काठमाडौं । सशस्त्र प्रहरीले नदीमा डुबेका मानिसहरूको उद्धार अभ्यास गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदिमा ‘सेमुलेसन’ अभ्यास गरेको हो ।
कार्यक्रममा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. १७ गण चितवन, नं. १४ गण मकवानपुर र आश्रित गुल्म धादिङ्गबाट खटिएको गोताखोरसहितको टोलीले मोटर बोट, राफ्ट बोट, लाइफ बुओइ, थ्रो ब्याग जस्ता विपद् सामग्रीको प्रयोग गरी नदीमा बगिरहेका व्यक्तिहरुको उद्धार गरेको थियो।
यस्तै, नारायणी पुलबाट स्लेदरिङ्ग विधिको प्रयोग गरी उद्धारकर्ताहरु झरेर कसरी नदीमा बगेका व्यक्तिहरूको उद्धार गरिन्छ भन्ने अभ्यासहरु समेत देखाएका थिए।
यसैगरी नेपाल रेडक्रस सोसाइटी चितवनको सहभागितामा मौसमजन्य विपद् प्रकोपको प्रतिकार्य तथा वाटर रेस्क्यु सम्बन्धी कृत्रिम अभ्यास गरिएको थियो।
साथै उद्धार गरिएका घाइतेहरुलाई मेडिकल रेस्पोन्डर र रेडक्रस सोसाइटीका प्रतिनिधिहरूको सहयोगमा मास क्याजुल्टी भेहिकलद्वार अस्पताल पठाउने उपायहरूको समेत डेमोस्ट्रेसन गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।


