काठमाडौं । मधेस प्रदेस सभामा लफडा भएको छ । मंगलबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन आह्वान गरेको बैठकमा तोडफोड र हुलदंगा भएको हो ।
तनावकाबीच मुख्यमन्त्री यादवले विश्वासको मत पाएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिँदा विपक्षी दलले भने बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।
सभामुखले प्रदेश सभा लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन गर्न नसकेको भन्दै विपक्षी नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले सदन बहिस्कार गरेका थिए।
सत्ता समीकरणमा भएको परिवर्तनपछि मधेस प्रदेशका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री यादवको पक्षमा ६१ सांसदले विश्वासको मत पाएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।
विरोधमा उत्रिएका जनमतका सांसद तोडफोडमा उत्रिएको भन्दै सभामुखले बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए । उनको निर्देशनपछि जनमतका सांसदलाई मर्यादापालकले बाहिर निकालेका छन्।
त्यसपछि जनमतका सांसदसँगै कांग्रेस र लोसपाका सांसद पनि बैठक बहिष्कार गरेर बाहिरिएका थिए।
राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै विपक्षी सांसदले पटक पटक बैठक अवरोध गरेका थिए।
सभामुख मण्डलले सभाको सीसीक्यामरा लगायत तोडफोड भएको र करिब चार लाखको क्षति भएको बताए । उनले तोडफोड गर्ने सांसदबाटै क्षतिपूर्ती भराउन निर्देशन समेत दिए ।