टेकराज भुसाल, सन्धिखर्क ।
जिल्लाको भूमिकास्थान नगरपालिकामा नगरस्तरीय युवा संसद् कार्यक्रम नमुना युवा नगरसभा अभ्यास सुरु भएको छ ।
भूमिकास्थान नगरपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको सहजीकरणमा २०८० चैत २५ गते आइतबारदेखि सुरु भएको नमुना युवा नगर सभा अभ्यास कार्यक्रमको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा मन्तव्य राख्दै नगरप्रमुख थापाले पछिल्लो समयमा युवाको विदेश जाने मोहले युवामा राष्ट्रिय भाव ह्रास हुँदै गएको बताउनुभयो ।

उहाँले युवाहरूले स्वदेशमै केही गर्न सक्छु भन्ने मनोबल लिएर मुलुकको रूपान्तरणमा आफ्नो महत्त्व बुझेर स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच राखेर अघि बढ्न आग्रह गर्नुभयो ।कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, प्रशिक्षक लीला विकलगायतले बोल्दै राज्यले यी र यस्ता कार्यक्रम समयमै युवामाझ लैजानाले उनीहरूको नेतृत्व विकासमा टेवा पुग्ने बताउनुभयो ।
शेषकान्त घिमिरे (ओसन) को सञ्चालन तथा भूमिकास्थान नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन खड्काको स्वागत मन्त्वयबाट अघि बढेको कार्यक्रममा सूचना अधिकृत तथा योजना शाखा प्रमुख हरिश्चन्द्र भुसाल, लुम्बिनी प्रदेश युवा परिषद्का कार्यकारी सदस्य सरोज खनाल, विभिन्न शाखाका प्रमुखलगायतको आतिथ्यमा उद्घाटन शत्रको कार्यक्रम सम्पन्न भएको थियो ।
आगामी चैत २८ गते बुधबारसम्म सञ्चालन हुने नमुना नगरसभा अभ्यास कार्यक्रममा भूमिकास्थान नगरपालिकाका १० ओटा वडाबाट २७ जना प्रतिनिधिको उपस्थिति रहेको र अन्तिम दिन नमुना नगरसभाको डेमो प्रस्तुत गरेर कार्यक्रम सम्पन्न हुने प्रशिक्षक लीला विकले जानकारी दिनुभएको छ ।