काठमाडौं । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा ३ जनाको मृत्यु भएको छ । विस्फोटमा परेर वर्कशप सञ्चालक निजगढकै ४५ वर्षीय रेशम मगर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका रितु रजतको मृत्यु भएको प्रहरीले जनाएको छ।
मगरको सोमबार, जैसवालको गएराति र रजतको आज मंगलबार) दिउँसो मृत्यु भएको हो।
विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो।
निजगढ नगरपालिका– ७ मा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कशप लेथमा सोमबार दिउँसो कबाडीबाट ल्याएको शंकास्पद बस्तु काट्ने क्रममा विस्फोट भएको थियो। विस्फोटमा गम्भीर घाइते भएका निजगढ ५ निवासी वर्कशप सञ्चालक मगरको त्यतिबेलै मृत्यु भएको थियो।
विस्फोटमा परेर निजगढ नगरपालिका( ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगन्ज महानगरपालिका( ९ घर भएका ३४ वर्षीय फिरोज देवान र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका छन्। त्यसमध्ये गम्भीर घाइते अरविनको बयोधाकै आईसीयूमा राखेर उपचार भइरहेको छ।
बाँकी दुई घाइतेमध्ये देवानको बयोधामा र थापाको निजगढमै रअहेको सामुदायिक प्रसूतिगृह अस्पतालमा उपचार भइरहेको छ।
घटना अनुसन्धानको लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
निजगढ नगरपालिका– ९ का २९ वर्षीय टीकाराम पाख्रिन र भारतको मोतिहारी घर भएका ४० वर्षीय रमेश जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने पाख्रिन कबाडी सामान बेच्ने व्यक्ति हुन्। उनी निजगढ निवासी हुन्। जैसवाल कबाडी सामान किन्ने व्यवसायी भएका प्रहरीले जनाएको छ। जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन्।
विस्फोटमा ठूलो मानवीय क्षति भएपछि जैसवाल कबाडी गोदामबाट एम्बुलेन्स चढेर भारतीर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।