• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लेनिन स्मृति र लेनिनवाद


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    नेकपा (मसाल) को केन्द्रीय कार्यालयद्वारा हालै प्रकाशित “लेनिन शताब्दी स्मृतिदिवस र लेनिनवाद” पुस्तकको भूमिकामा लेखिएको छ– “नेकपा (मसाल) ले २०८० सालको वैशाख १८ गतेदेखि २०८१ साल वैशाख १९ गते अर्थात् मे दिवससम्मका लागि ऐतिहासिक तीन अभियान कार्यक्रम सञ्चालन गरेको थियो । त्यो कार्यक्रम अहिले पनि चलिरहेको छ । ती तीन अभियानअन्तर्गत लेनिनको स्मृतिदिवस, पार्टीको पचहत्तरौँ हीरक वर्ष र नेकपा (मसाल) को नवौँ महाधिवेशन पर्दछन् । ती तीनओटै कार्यक्रमलाई संयुक्त रूपले एक वर्षसम्म सञ्चालन गर्ने हाम्रो पार्टीको निर्णय थियो र त्यो कार्यक्रम अझै पनि चलिरहेको छ ।”

    उक्त तीन अभियान कार्यक्रममध्य यो लेखमा मैले लेनिन शताब्दीमाथि नै मुख्य रूपले चर्चा गर्न चाहान्छु । लेनिन शताब्दी स्मृतिलाई हाम्रो पार्टीबाहेक एमाले र विभिन्न वामपन्थी खेमामा आबद्ध वाम बुद्धिजीवीले पनि त्यससम्बन्धी केन्द्रीय स्तरमा एउटा समिति बनाएर “लेनिन शताब्दी स्मृति” वर्षभरि नै विभिन्न कार्यक्रमसहित मनाउने निर्णय गरेका छन् ।

    यी कार्यक्रमले लेनिनको निजी तथा पारिवारिक जीवन, विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको योगदान, रुसमा क्रान्तिपूर्व तथा क्रान्तिपश्चात् लेनिनले पार्टीभित्र विभिन्न खाले अवसरवादका विरुद्ध गरेको सङ्घर्ष, प्रतिकृयावादी राज्यसत्ता पल्टाउन गरेको सङ्घर्ष, रुसमा समाजवादको स्थापनापश्चात् लेनिनले समाजवादको निर्माण, रक्षा र समृद्धिका लागि खेलेको भूमिका, लेनिनका विभिन्न महत्त्वपूर्ण कृति तथा लेनिनवादको बारेमा नेपालको वाम आन्दोलनमा सहभागी तथा वामपन्थी जनमतलाई बुझ्न मदत पुग्ने छ । 

    लेनिनको मृत्यु भएको १०० वर्ष पुग्दै छ । यो स्थितिमा लेनिनको स्मरण गर्नुको तात्पर्य हुन्छ : मार्क्सवाद सिर्जनात्मक विकासमा लेनिनले पुर्‍याएको योगदानलाई स्मरण गर्नु हो । मार्क्सवादको सिर्जनात्मक विकासमा लेनिनले पुर्‍याएको योगदानलाई स्मरण गर्नुको तात्पर्य हुन्छ : विद्यमान अवस्थामा हाम्रो मुलुकको ठोस परिस्थितिमा लेनिनवादको व्यावहारिक प्रयोग गर्नु हो ।

    लेनिनको स्मृतिमा लेखिएको यो लेखलाई तीन भागमा विभाजन गरेको छु । लेखले लेनिनको विषयमा थोरबहुत भए पनि बुझ्न सहयोग पुग्ने छ । ती तीत भाग हुन् : १. लेनिनको निजात्मक पक्ष, २. तत्कालीन रुसको अवस्था, ३. लेनिनवाद ।

    भाग १

    १. लेनिनवादको निजात्मक पक्ष

    लेनिनको जन्म अप्रिल २२, १८७० मा रुसको सिम्विस्र्क सहरमा एउटा मध्यमवर्गीय परिवारमा भएको थियो । उनको पालनपोषण एउटा प्रगतिशील रुसी बुद्धिजीवी परिवारमा भएको थियो । लेनिनको परिवार प्रगतिशील थियो । परिवारको प्रगतिशील सोचाइका कारण पनि तत्कालीन रुसी निरङ्कुश राजतन्त्रात्मक शासनप्रणालीका विरुद्ध उभिन पे्ररणा मिलेको थियो । निरङ्कुश राजतन्त्रको विरोधमा उभिएका कारण लेनिनका दाजुलाई तत्कालीन जारशासनले फाँसी दिएर हत्या गरेको थियो ।

    त्यसैगरी, लेनिनकी दिदी मारियाले पनि जारका विरुद्ध लागेका कारण कैयौँपटक जेल तथा निर्वासनको सजाय भोग्नुपरेको थियो । लेनिनको क्रान्तिकारी गतिविधिमा उहाँको दिदी र आमाको निकै ठुलो सहयोग रहेको थियो । लेनिनकी दिदी क्रान्तिपूर्व र क्रान्तिपश्चात् सधै लेनिनसँगै एउटा असल सहयोगीको रूपमा भूमिका खेलेकी थिइन् । रुसमा समाजवाद स्थापनाका लागि गठन गरिएको रुसी कम्युनिस्ट पार्टीमा आबद्ध हुनुका साथै क्रान्तिमा भाग लिने र क्रान्तिको सफलतापश्चात् समाजवादी राज्यमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेकी थिइन् ।

    जुलाई १०, १८९८ मा लेनिन र क्रुप्सकायाका बिच विवाह भएको थियो । क्रुप्सकाया पनि एक जना क्रान्तिकारी हुनुहुन्थ्यो । सुरुदेखि नै क्रुप्सकाया रुसको क्रान्तिकारी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । लेनिनले जेलभित्रबाट एक मजदुर वर्गको पार्टीको निर्माणका लागि प्रयत्न गरिरहनुभएको थियो । लेनिनको सुझावबमोजिम नै सेन्टपिटर्सबर्गको “सङ्घर्ष लिग” ले महाधिवेशन बोलाउने कार्यलाई अगाडि बढाएको थियो । १८ महिनाको प्रयासपछि रुसको सामाजिक जनवादी सङ्गठनका प्रतिनिधिले रुसी सामाजिक जनवादी मजदुर पार्टीको पहिलो महाधिवेशन गरेको थियो । त्यो महाधिवेशनमा लेनिन सहभागी हुन नपाए पनि क्रुप्सकाया सहभागी हुनुहुन्थ्यो । महाधिवेशन भएको जानकारी लेनिनले सर्वप्रथम क्रुप्सकायाबाट प्राप्त गर्नुभएको थियो । यसबाट थाहा हुन्छ, क्रुप्सकाया सुरुदेखि नै रुसी समाजवादी आन्दोलनसँग जोडिनुभएको थियो । उहाँ रुसी कम्युनिस्ट पार्टीको एक जना प्रमुख नेता, सिद्धान्तकार तथा चिन्तक हुनुहुन्थ्यो भने क्रान्तिको सफलतापश्चात् स्थापित समाजवादी रुसको मन्त्रीसमेत भएर समाजवादको रक्षाका लागि भूमिका खेल्नुभयो ।

    क्रुप्सकायाको खुला तथा भूमिगत दुइटै अवस्थामा सधैँ लेनिनलााई सहयोग गर्नुभयो । त्यति मात्र नभएर क्रुप्सकायाको आमासमेत केही समयबाहेक आजीवन लेनिन सँगसँगै बस्नुभएको थियो । लेनिनको पारिवारिक व्यवस्थापन उहाँको सासूले नै गर्नुभएको थियो ।
    लेनिनको गृहस्थी लेनिनकी सासु योलिजाभेता वासिल्येभनाले व्यवस्थापन गर्नुभएको थियो । माक्र्सको परिवारमा जुन भूमिका हेलेन डेमिथको रह्यो, ठिक त्यस्तै प्रकारको भूमिका लेनिनको परिवारमा योलिजाभेता वासिल्येभनाको थियो ।

    लेनिनले १७ वर्षको कलिलो आयुमा तत्कालीन जार सरकारको विरोध गरेबापत् निर्वासनको सजाय भोग्नुपर्‍यो । निर्वासनबाट फर्केपछि उहाँले कजान विश्वविद्यालयबाट कानुनको परीक्षा उत्तीर्ण गर्न सफल हुनुभयो । सन् १८९२ देखि ९३ सम्म उहाँले वकालत पेसा गर्नुभयो । यो एक वर्षको दौरान उहाँले मजदुर–किसानका झन्डै २० ओटा मुद्दामा अदालतमा बहसपैरवी गरेको तत्कालीन रुसका विभिन्न लेखक तथा नेताको संस्मरणमा उल्लेख भएको पाइन्छ ।

    वकालत गरे पनि खासमा उहाँको रुचि त्यसमा थिएन, माक्र्सवादको अध्ययनमा आफ्नो सम्पूर्ण शक्ति लगाइरहनु भएको थियो । तत्कालीन रुसमा मुठ्ठीभर व्यक्तिको क्रान्तिकारी कारबाहीबाट व्यवस्था परिवर्तन गर्न चाहने विचारको युवामाझ जबर्जस्त प्रभाव थियो । त्यसबाट रुसका युवालाई मुक्त गर्न वैचारिक सङ्घर्षको आवश्यकता थियो । त्यही आवश्यकता पूरा गर्न लेनिनले जर्मन भाषामा लेखिएका कैयौँ कम्युनिस्ट साहित्यको रुसी भाषामा अनुवाद र प्रचार प्रसार गर्न थाल्नुभयो । त्यसका साथै लेनिनले फेब्रुअरी १८९५ मा “मजदुर वर्गको भूमिकाका लागि सङ्घर्ष लिग” निर्माण गर्नुभयो ।

    कजान विश्वविद्यालयमा अध्यनरत रहेका बेला सन् १८७० मा लेनिन पहिलोपटक फेदोयेभ नामको व्यक्तिद्वारा बनाइएको माक्र्सवादी मण्डलीमा सम्मिलित भए पनि फेब्रुअरी १८९५ मा गठन भएको “मजदुर वर्गको मुक्तिका लागि सङ्घर्ष लिग” बाट उहाँको सङ्गठनात्मक जीवनको सुरुवात हुन्छ । रुसमा भएका विभिन्न समूह मिलाएर लेनिनले सन् १८९८ मा सामाजिक जनवादी पार्टी बनाउने पहिलो प्रयास गरेको पाइन्छ ।

    सन् १८९८ मा यो पार्टीको पहिलो महाधिवेशन भयो तर महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति चाँडै नै गिरफ्तार भयो ।
    का. लेनिनको नेतृत्वमा रुसमा कम्युनिस्ट पार्टीको स्थापना भयो । पार्टीलाई क्रान्तिको साधन बनाउन लेनिनले थुप्रै प्रकारका माक्र्सवाद विरोधी धारसँग अविराम सङ्घर्ष गर्नुपर्‍यो । नरोदनिक (लोकवादी), प्लेखानोभ, ट्राटस्की, मार्तिनोभ, अर्थवाद, मेन्सेभिक, विर्सजनवाद, बहिष्कारवाद आदिका विरुद्ध दृढ सङ्घर्ष गर्नुभयो । त्यही सङ्घर्षमा विजयको परिणाम नै रुसी कम्युनिस्ट पार्टीले सन् १९१७ मा समाजवादी क्रान्ति गर्न सफल भयो । यही दौरान लेनिनवाद रुसको भूमिमा जन्मियो† हुर्कियो र विकास भयो यद्यपि लेनिनवाद रुसको भूमिमा जन्मे पनि यो विशुद्ध रुसको मात्र नभएर सम्पूर्ण अन्तर्राष्ट्रिय विकासमा आधारित अन्तर्राष्ट्रिय विचारधारा हो ।

    रुसमा सन् १९१७ मा समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि पनि रुसको आन्तरिक अवस्था निकै गम्भीर थियो । गृहयुद्ध सकिएको थिएन । त्यसैमाथि १४/१४ ओटा साम्राज्यवादी मुलकले रुसमाथि आक्रमण गरे । युक्रेनमा त आक्रमणकारी मुलकको सहयोगमा प्रतिकृयावाद सम्मिलित सरकार नै गठन गरेका थिए । पोल्यान्डमा जातीय समस्या चर्र्र्केको थियो । विदेशी आक्रमणकारी मुलकको विभिन्न निकायका घुसपैठ पनि व्यापक थियो । त्यही क्रममा समाजवादका संस्थापक लेनिनलाई भौतिक रूपमा सिध्याउने उद्देश्यले अगस्त ३०, १९१८ का दिन एउटा मजदुर सभाबाट फर्किने क्रममा काप्लान भन्ने महिला, जसको वास्तविक नाम फेगा हेमोवना रोयटब्लाट थियो, ले लेनिनमाथि तीन राउन्ड गोली प्रहार गरेकी थिइन् । गोली प्रहारबाट लेनिन गम्भीर घाइते हुनुभयो । लेनिनलाई प्रहार गरिएको गोलीमा “कुरारे” नामक तेजिलो विष भरिएको थियो ।

    गोलीबाट घाइते लेनिनको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गयो । एकातर्फ बिग्रिँदो लेनिनको स्वास्थ्य अवस्था, अर्काेतर्फ रुसमाथि साम्राज्यवादीको आक्रमण, समाजवादको रक्षा तथा पार्टीभित्र विभिन्न अवसरवादी धारा विरुद्ध तीव्र सङ्घर्ष जस्ता चुनौती रुसी समाजले व्यहोर्नुपर्‍यो ।

    काप्लानले हानेको गोलीको परिणाम नै स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिँदै गएर जनवरी २१, १९२४ का दिन लेनिनको देहान्त भयो । लेनिनको देहान्त भएको यस वर्ष १०० वर्ष पुग्दै छ । विश्वभरिका कम्युनिस्टले लेनिन शताब्दी स्मृतिदिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

    लेनिन सर्वहारा वर्गका महान् नेता, समाजवाद संस्थापक तथा स्टालिनले “लेनिनले माक्र्सवादको भण्डारलाई समृद्ध पार्नुभएको छ, जुन स्वभावत: उहाँको नाउँसित जोडिएका छन्” भन्नुभएको छ अर्थात् लेनिनवाद लेनिनको नामसँग जोडिएको हुनाले उहाँका बारेमा निजी, राजनीतिक दार्शनिक सैद्धान्तिक, साङ्गठनिक विषयमा लेखिएका पुस्तक, पत्रपत्रिका तथा साहित्यको विपुल भण्डार नै पाइन्छ । ती विपुल भण्डारमा लेनिनका निजी पक्ष, स्वभाव, चरित्र अध्ययनशीलता, मनोरञ्जन, परिवार, विनोदप्रियता, रुचिलगायतका कैयौं विषयमा अनुसन्धानकर्मी, लेखक तथा लेनिनका समकक्षी नेता तथा सहयोगीले लेख/संस्मरण लेखेको पाइन्छ । ती सबै विषयमा चर्चा गर्न सम्भव छैन । मैले मुख्यतया लेनिनमा भएको विशिष्ट प्रकारको काम गर्ने शैलीका बारेमा मात्र चर्चा गर्न चाहान्छु ।

    लेनिनको काम गर्ने विशिष्ट प्रकारको शैली तथा असीम कार्यक्षमता हामी सबैका लागि अनुकरणीय तथा प्रेरणादायी रहेको छ । सन् १९१८ मा काप्लानले गोली हानेपछि लेनिनको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गयो । टाउकोमा भएको गोलीको छर्राको परिणाम नै मार्च १०, १९२३ मा लेनिन पक्षघातको शिकार भए । उहाँ बोल्न नसक्ने अर्थात् उहाँको बोली बन्द भयो । उहाँको देब्रे हातखुट्टा नचल्ने भयो यद्यपि पछि उहाँको स्वास्थ्यमा केही सुधार भयो । यस दौरान लेनिनले रुसी कम्युनिस्ट पार्टीको बाह्रौँ महाधिवेशनका लागि कैयौँ पत्र र दस्तावेज तयार पार्नुभयो । त्यसै गरी जनवरी १६–१८ (१९२४) सम्म चलेको पार्टीको तेह्रौँ महाधिवेशनका लागि पनि उहाँले कैयौँ महत्त्वपूर्ण दस्तावेज र पत्रपत्रिकामा लेख्नुभएको थियो ।

    गोली लागेर घायल भएपछि सन् १९१९ मा “सर्वहारा क्रान्ति तथा गद्दार काउत्स्की” जस्तो महान् सैद्धान्तिक कृति लेख्नुभयो । सन् १९२० मा “वामपन्थी साम्यवाद : एक बालरोग” जस्तो महान् सैद्धान्तिक कृति तयार पार्नुभयो । यो कुनै चानचुने कुरा थिएन । लेनिनका लागि “सक्रियता जीवन तथा निस्क्रियता मृत्यु” भन्ने मूलमन्त्र नै थियो । उहाँले सन् १९२१ मा भएको कम्युनिस्ट इन्टरनेसनको तेस्रो अधिवेशनमा कम्युनिस्ट पार्टीको कार्यनीतिसम्बन्धी रिर्पोटको प्रस्थापना, अन्तर्राष्ट्रिय परिस्थिति र कम्युनिस्ट इन्टरनेसनलका मुख्य कार्यभार, जातीय तथा औपनिवेशिकसम्बन्धी प्रस्थापनाको प्रारम्भिक प्रारूप, रुसी कम्युनिस्ट पार्टीको कार्यनीतिबारे रिपोर्ट, जाति वा स्वायत्तीकरणसम्बन्धी प्रश्न जस्ता गहन लेख, दस्तावेज तथा पत्र तयार पार्नुभयो । लेख तथा अन्य कैयौँ पत्र लेनिनले बोलेर आफ्नो स्वकीय सचिवलाई टिपाउन लगाउनुहुन्थ्यो । डाक्टरले लेनिनलाई कुनै पनि प्रकारको काम, अझ त्यसमा पनि अध्ययन, लेखनको काम नगर्न तथा नबोल्न कडा निर्देशन दिएका थिए । ती निर्देशन उल्लङ्घन गर्दा आफ्नो स्वास्थ्य अवस्था झन् खतरामा पर्ने हो भन्ने कुरा थाहा पाउँदापाउँदै पनि लेनिनले गम्भीर बिरामीका बाबजुद अझ काम गर्न छोडनुभएन ।

    लेनिनले भर्खरै रुसमा स्थापना भएको समाजवादको विकासका लागि सहकारीकरण जस्ता गम्भीर लेख लेख्नुभयो । उहाँले दर्शनको क्षेत्रमा देखा परेका समस्याको बारेमा पथप्रदर्शन गर्न जुझारु भौतिकवादको महत्त्वसम्बन्धी उद्धरण तयार पार्नुभयो ।

    लेनिनले गम्भीर बिरामीको अवस्थामा रुसी कम्युनिस्ट पार्टीको बाह्रौँ तथा तेह्रौँ महाधिवेशनका लागि थुप्रै पत्र, रिपोर्ट तथा दस्तावेज लेखेर महाधिवेशनको तयारी गर्नुभयो । महाधिवेशनलाई वैचारिक रूपमा नेतृत्व गर्नुभयो ।

    लेनिन सुरुदेखि नै समयको निकै सदुपयोग गर्नुहुन्थ्यो । उहाँले पल पल समयको हिसाब गरेर समयको सदुपयोग गर्नुहुन्थ्यो । प्राण त्याग्ने दिनभन्दा दुई दिनअगाडि पनि लेनिन काम नगरी खाली बस्नुभएन । लेनिनको आग्रहमा उहाँको सहयोगीले लन्डनवासी साहित्यकारले लेखेको “जीवनप्रतिको प्रेम” शीर्षकको कथा पढेर सुनाएका थिए । यसरी हेर्ने हो भने लेनिनमा काम गर्ने असीमित कार्यक्षमता थियो । गम्भीर बिरामी अवस्थामा पनि लेनिनले जनभेटघाटदेखि पार्टीका साथीको स्वास्थ्यमा ध्यान दिनुहुन्थ्यो ।

    भाग २

    तत्कालीन राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति

    सोभियत सङ्घ कम्युनिस्ट पार्टी (बोल्सेभिक) को इतिहासमा रुसको कुल जनसङ्ख्याको ६ खण्डको पाँच खण्ड कृषि र बाँकी एक खण्ड मात्र ठुला तथा साना उद्योग, व्यापार, रेल तथा जलमार्ग निर्माणकार्य, काष्ठकार्य आदिमा लागेको थियो । त्यसबाट यो बुझ्न कुनै गाह्रो पर्दैन कि रुसमा भूदासप्रथाको अन्तपछि सन् १८६५–९० अर्थात् २५ वर्षभित्र रुसमा पुँजीको केही विकास भइरहेको देखिए पनि रुस एउटा कृषिप्रधान, आर्थिक दृष्टिले पछौटे मुलुक, निम्नपुँजीवादी मुलुक नै रहेको थियो । लेनिनद्वारा लिखित “गाउँका गरिबहरूसित” नामक पुस्तिकामा सन् १९०३ मा रुसमा एक करोड किसान परिवार रहेको, ती मध्ये १५ लाख धनी, कुलाक परिवारको हातमा कुल आवाद जमिनको आधा हिस्सा केन्द्रित थियो भन्ने कुरा उल्लेख भएबाट रुसमा भूदास प्रथाको अन्त भए पनि, पुँजीको विकास अघि बढे पनि मुलुक कृषिप्रधान र पछौटे नै थियो, जसको परिणाम मजदुर वर्ग अल्पसङ्ख्यामा तथा किसान बहुसङ्ख्यामा थियो तर किसान छिन्नभिन्न भइरहेको थियो भने मजदुर वर्गको सङ्ख्यामा क्रमश: वृद्धि भइरहेको थियो भन्ने थाहा हुन्छ ।

    रुसमा जारको निरङ्कुश राजतन्त्रात्मक शासनप्रणाली थियो । रुसमा जारको निरङ्कुश शासन भए पनि त्यो साम्राज्यवादी मुलुकको आडभरोसामा बाँचेको थियो । रुसका यी विशेषतालाई ध्यान दिएर नै स्टालिनले आफ्नो पुस्तक “लेनिनवादका आधारहरू” मा जारशाही, फौजी सामन्ती साम्राज्यवादी भएको बताउनुभएको थियो ।

    तत्कालीन अवस्थामा जारशाही रुससँग एक करोड चालिस लाख सेना थिए । ती सेनालाई पश्चिमा साम्राज्यवादी मुलुकको स्वार्थपूर्तिका लागि जारले भाडामा उपलब्ध गराउने गर्दथ्यो । पश्चिमा साम्राज्यवादी मुलुकले रुसलाई ठुलो पैमानामा पुँजी दिन्थ्यो । विदेशी पुँजी आयातलाई खुला छुट दिएर ती पुँजीको माध्यमबाट रुसका अर्थतन्त्रमाथि जारले विदेशी प्रभुत्व कायम गरेको थियो । जारशाही रुसले पश्चिमा साम्राज्यवादी शक्तिबाट ठुलो परिणाममा ऋण पनि प्राप्त गर्दथ्यो । यसरी रुस साम्राज्यवादी शक्तिको जगेडा शक्ति बन्नुका साथै जारशाही स्टालिनको शब्दमा “साम्राज्यवादको सबभन्दा खराब विशेषता” केन्द्रीकृत भएका थिए । रुसमा मजदुरमाथि पुँजीपतिको भयङ्कर शोषण थियो । किसानमाथि जमिनदार तथा कुलाकको शोषण थियो । मजदुर तथा किसान वर्गमाथि दोहोरो शोषण थियो ।
    अन्तर्राष्ट्रिय रूपमा खुल्ला प्रतिस्पर्धामा आधारित पुँजीवाद उन्नाइसौँ शताब्दीमा पुग्दा त्यसको विकास उत्कर्षमा पुगेको थियो । खुला प्रतिष्पर्धामा आधारित पुँजीवाद राष्ट्रिय सीमाभित्र थियो भने पछि उत्पादनमा भएको वृद्धिले बजारको आवश्यकतालाई बढाएर लग्यो, जसको परिणाम राष्ट्रिय बजार अपर्याप्त भए । त्यो स्थितिमा पुँजीलाई राष्ट्रिय सीमा नाघेर त्यसले मालको खपतका लागि बजार तथा मालको उत्पादनका लागि कच्चा सामग्रीको आपूर्तिका लागि कमजोर तथा पिछडिएका मुलुकमाथि विभिन्न प्रकारले प्रभुत्व कायम गर्न थाल्यो ।

    पुँजीवादको विकास भएर साम्राज्यवादमा विकास हुने प्रक्रिया लगभग सन् १८६० देखि सुरु भयो । मालको विक्रीका लागि इलाका र उपनिवेश आवश्यक पर्न थाले । ठुला शक्तिराष्ट्रका बिच पिछडिएका र कमजोर मुलुकलाई आफ्नो इलाका र उपनिवेश बनाउने होड चल्न सुरु भइसकेको थियो । सन् १८७६ तथा सन् १९१४ मा विश्वको बाँडफाँड करिब करिब पूरा भइसकेको थियो तर साम्राज्यवादीका बिच विश्वको विभाजन र पुनर्विभाजनको प्रक्रिया यही विन्दुमा आएर रोकिन्छ भन्ने होइन । तत्कालीन अवस्थामा भएको विश्वको विभाजन पछिल्लो अवस्था पुनर्विभाजन पनि भएको छ । शक्तिराष्ट्रका उपनिवेश भएका मुलुकपछि गएर स्वयम्मा साम्राज्यवादी मुलुकमा विकास गरेका उदाहरण पनि पाइन्छन । त्यस्ता मुलुकले अन्य मुलुकलाई समेत आफ्नो इलाका वा उपनिवेश बनाएको पाइन्छ; जस्तै : अमेरिका बेलायतको उपनिवेश थियो भने त्यसबाट स्वतन्त्र भएर प्रथम तथा दोश्रो विश्वयुद्धको क्षतिबाट आफूलाई जोगाउँदै शक्तिसञ्चय गर्दै क्रमश: एसिया, ल्याटिन अमेरिका, तथा अफ्रिकाका कैयौँ मुलुकलाई आफ्नो उपनिवेश बनाएको पाइन्छ । यसरी सन् १८७६ देखि १९०० को बिचमा अफ्रिका तथा पोलेनिसियाको बाँडफाँड भइसकेको थियो । एसिया तथा अमेरिकामा कुनै त्यस्तो इलाका थिएन, जुन खाली होस् अर्थात् जुनमाथि कुनै न कुनै राज्यको कब्जा नभएको होस् ।

    सन् १८८४ देखि १९०० सम्मको अवधिमा मुख्य युरोपियन मुलुकले आफ्नो उपनिवेशको विस्तार तीव्र ढङ्गले गरेका थिए । एउटा तथ्याङ्कअनुसार ग्रेट ब्रिटेनले त्यो अवधिमा ३६ लाख वर्गमाइल क्षेत्रमा कब्जा जमाएको थियो । त्यो क्षेत्रको जनसङ्ख्या पाँच करोड ६० लाख थियो । फ्रान्सले ३६ लाख वर्गमाइल क्षेत्रफल भएको इलाकामाथि कब्जा जमाएको थियो । त्यसको जनसङ्ख्या तीन करोड ६५ लाख थियो । जर्मनीले १० लाख वर्गमाइल क्षेत्रफल भएको इलाकामाथि कब्जा जमाएको थियो । त्यसको जनसङ्ख्या १ करोड ४६ लाख थियो । आफ्ना औपनिवेशिक इलाका कब्जा गर्ने सवालमा बेल्जियम तथा पोर्चुगल जस्ता देश पनि लागिपरेका थिए । बेल्जियमसँग ९ लाख वर्गमाइल क्षेत्रफल भएको इलाका थियो । त्यसको जनसङ्ख्या ३ करोड थियो भने पोर्चुगलले ८ लाख वर्गमाइल क्षेत्रफल भएको इलाकामा कब्जा गरेको थियो । त्यसको जनसङ्ख्या ९० लाख थियो । सन् १८७६ पछि औपनिवेशिक इलाकाको विस्तारमा झन् अत्यधिक वृद्धि भएको पाइन्छ । प्रथम विश्वयुद्ध साम्राज्यवादीबिच विश्वको बाँडफाँड उपनिवेश, वित्तपुँजीको प्रभावक्षेत्र आदिको विभाजन तथा पुनर्विभाजनका लागि भइरहेको थियो ।

    यस प्रकारको राष्ट्रिय/अन्तर्राष्ट्रिय खुल्ला वर्गमुठभेड तथा क्रान्तिको परिस्थितिमा लेनिनले काम गर्नुपरेको थियो । उहाँका अगाडि पुँजीवादले साम्राज्यवादमा विकास गरे पनि साम्राज्यवादका विशेषतालाई केलाएर क्रान्तिको रणनीति तथा कार्यनीति तयार पार्नुपर्ने अभिभारा थियो ।

    तत्कालीन रुसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमाथि चर्चा गर्दा त्योसँग जोडिएको अर्काे अन्तर्सम्बन्धित विषयमाथि पनि हामीले ध्यान दिनुपर्दछ । पुँजीवादको शान्तिपूर्ण विकासको अवस्थामा माक्र्सले अगाडि सारेको क्रान्तिको सिद्धान्त पुँजीवाद साम्राज्यवादमा परिणत भइसकेको विश्व परिवेशमा लागु हुन सक्दैनथ्यो तर ट्राटस्कीपन्थी वा माक्र्सवादलाई गतिशील तथा सिर्जनात्मक रूपमा नभएर जडसूत्रको रूपमा बुझ्ने गैरमाक्र्सवादी धाराले माक्र्सले नै अगाडि सारेको सूत्रको सहारा लिएर बदलिएको विश्व परिस्थितिअनुरूप लेनिनले अगाडि सारेको क्रान्तिको सिद्धान्त, रणनीति तथा कार्यनीतिको विरोध गरी नै रहे ।

    साम्राज्यवादपूर्व पुँजीवादको अवधिमा एउटा छुट्टै मुलुकमा समाजवादको विजयी हुनुलाई माक्र्सले असम्भव बताउनुभएको थियो । सबै पुँजीवादी मुलुकमा क्रान्ति सँगै अघि बढ्ने छ भन्ने मान्यता मार्क्सको थियो तर लेनिनले उक्त अवधारणालाई बदल्नुभयो । लेनिनले सन् १९१५ मा लेख्नुभएको “संयुक्त राज्य युरोपको नारा” तथा सन् १९१६ लेख्नु भएको “सर्वहारा क्रान्तिको युद्धको कार्यक्रम” शीर्षक लेखमा सबै मुलुकमा एकैचोटी पुँजीवाद विरुद्ध क्रान्ति हुने कुरा वर्तमान युगमा सम्भव छैन भन्नुभयो । युद्धले साम्राज्यवादको जग कमजोर पार्ने भएकाले जुन ठाउँमा साम्राज्यवाद सबैभन्दा कमजोर हुन्छ, त्यहाँ त्यसको मोर्चा तोड्न सम्भव हुने कुरा स्पष्टताका साथ अगाडि सारेर समाजवादी क्रान्तिसम्बन्धी अर्थात् साम्राज्यवाद तथा सर्वहारा क्रान्तिसम्बन्धी लेनिनको सिद्धान्तले माक्र्सवादलाई नयाँ सिद्धान्तको रूपमा समृद्ध पार्ने काम गरेको छ ।

    भाग ३

    लेनिननवाद

    स्टालिनले भन्नुभए झैँ सानो लेखमा “लेनिनवादको पूर्ण व्याख्या” सम्भव छैन । राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति तथा विश्व कम्युनिस्ट आन्दोलनको विकासक्रमको आधारमा लेनिनले विभिन्न समयका विभिन्न पुस्तकमा छरिएका दृष्टिकोणले मार्क्सवादका तीन मुख्य सङ्घटक अङ्गमा पुर्‍याएको सिर्जनात्मक विकासको क्रममा निर्माण भएको बौद्धिक विरासतको कुल योग नै लेनिनवाद हो ।
    लेनिनले सङ्गठनात्मक सिद्धान्तको क्षेत्रमा लेखिएका मुख्य “कृतिहरू के गर्ने ?” तथा “एक पाइला अगाडि, एक पाइला पछाडि”, दार्शनिक क्षेत्रमा माक्र्सवादी दर्शनको विषयमा भ्रम पैदा गर्न खोज्ने तत्त्व विरुद्ध लेखिएको दार्शनिक कृति “भौतिकवाद र अनुभवसिद्ध आलोचना”, बनिबनाउ राज्ययन्त्रमाथि सर्वहारा वर्गले कब्जा गरेर समाजवादमा रूपान्तरण गर्ने बर्नस्टिन तथा काउत्स्कीका अवसरवादी विचार विरुद्ध “राज्य र क्रान्ति” तथा सर्वहारा अधिनायकतन्त्रसम्बन्धी सही समझदारीलाई अगाडि बढाउन “वामपन्थी साम्यवाद : एक बालरोग”, पुँजीवादले साम्राज्यवादमा विकास गरेपछि बदलिएको विश्व राजनीतिका सन्दर्भमा लेखिएको “साम्राज्यवाद : पुँजीवादको उच्च चरण”, “जनवादी क्रान्तिमा सामाजिक जनवादीको दुई कार्यनीति”, “संयुक्त युरोपको नारा”, “सर्वहारा क्रान्ति र गद्दार काउत्स्की”, नयाँ आर्थिक नीति, सहकारीकरण, जातीय समस्या, आत्मनिर्णको अधिकार, जाति वा स्वायत्तीकरण, रुसमा पुँजीवादको विकास, औपनिवेशिक सवालमा लेनिनका कृतिमा भएका त्यस्ता नौला तथा विशिष्ट कुरा, जसलाई थपेर लेनिनले माक्र्सवादको भण्डारलाई समृद्ध पार्नुभयो । त्यसैले माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणको रूपमा लेनिनलाई लिइन्छ ।

    स्टालिनले लेनिनवादलाई “लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद” बताउनुभएको छ । लेनिनवादमाथि थप जोड दिँदै स्टालिनले भन्नुभएको छ– “सामान्यतया लेनिनवाद सर्वहारा क्रान्तिको सिद्धान्त र विशेषत: सर्वहाराको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।”

    वर्तमान युग साम्राज्यवादी युग हो । पुँजीवादको शान्तिपूर्ण विकास तथा प्रतिष्पर्धाको युग समाप्त भएर पुँजीवाद विकासको उच्च चरण साम्राज्यवादमा विकास गरेको अवस्था हो । पुँजीवादको शान्तिपूर्ण विकास तथा प्रतिष्पर्धाको युग माक्र्सवादको युग थियो । मार्क्सले पुँजीवादको अन्त तथा समाजवादी क्रान्तिको सिद्धान्त प्रस्तुत गर्नुभएको थियो । त्यसलाई थप स्पष्ट पार्दै माक्र्स र लेनिनले काम गरेको अवधिबिचको अन्तरलाई त्यो युग समाप्त भएर पुँजीवादले साम्राज्यवादमा विकास गरेको हुनाले पुँजीवादी साम्राज्यवाद विरुद्ध क्रान्तिको सिद्धान्त अर्थात् साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको कार्यनीति र रणनीति लेनिनले प्रस्तुत गरेको हुनाले अहिलेको युग लेनिनको युग हो ।

    लेनिनवादको सम्बन्धमा का. स्टालिनले आफ्नो पुस्तक “लेनिनवादका आधारहरू” मा लेख्नुभएको छ– “लेनिनवादले माक्र्सवादलाई पुनस्र्थापित मात्र गरेन बरु पुँजीवाद र सर्वहारा वर्गको वर्गसङ्घर्षको नौलो परिस्थितिमा माक्र्सवादको अरू विकास गरी त्यसलाई एक पाइला अघि पनि बढायो ।”

    स्टालिनले आफ्नो पुस्तक “लेनिनवादका आधारहरू” मा, “माक्र्स र एङ्गेल्सले क्रान्तिपूर्वको अवधिमा (यहाँ सर्वहारा क्रान्तिलाई ध्यानमा राखिएको छ) काम गर्नुभएको थियो । त्यस अवधिमा विकसित साम्राज्यवादको उदय भइसकेको थिएन । त्यो अवधि सर्वहारा क्रान्तिका लागि तयारीको अवधि थियो । त्यस अवधिमा सर्वहारा क्रान्ति तात्कालिक व्यावहारिक अनिवार्यता बनिसकेको थिएन तर मार्क्स र एङ्गेल्सका चेला लेनिनले विकसित पुँजीवादको अवधिमा फैलिँदो सर्वहारा क्रान्तिको अवधिमा काम गर्नुभएको थियो । यस अवधिमा एउटा मुलुकमा सर्वहारा क्रान्तिको विजय भइसकेको थियो । सो क्रान्तिले पुँजीवादी प्रजातन्त्रलाई ध्वस्त पारिसकेको थियो र सर्वहारा जनवादको युग सोभियत युगको सूत्रपात गरिसकेको थियो । त्यसो हुनाले लेनिनवाद भनेको माक्र्सवाद अरू विकसित रूप हो” भनेर व्याख्या गर्नुभएको छ । लेनिनले माक्र्सवादी सिद्धान्तलाई क्रान्तिकारी आन्दोलनको नयाँ अनुभवले समृद्ध पार्नुभएको छ ।

    सन् १८७० को दशकमा सर्वहारा वर्गले अधिनायकतन्त्रका लागि सुहाउँदो पेरिस कम्युन खालको राजनीतिक सङ्गठन हुने कुरा माक्र्सले बताउनुभएको थियो । पछिका दिनमा माक्र्सले त्यो प्रस्थापनाबारे थप व्याख्या गर्ने वा त्यसलाई अगाडि बढाउनुभएन ।

    एङ्गेल्सले जनवादी गणतन्त्र सर्वहारा वर्गको अधिनायकतन्त्रका लागि विशिष्ट रूप बताउनुभएको थियो । त्यही भएर फेबु्रअरी १८९६ मा भएको दोस्रो रसियाली क्रान्तिभन्दा पहिलेका सबै मुलुकका माक्र्सवादीले संसदीय जनवादी गणतन्त्रलाई नै पुँजीवादबाट समाजवादतर्फ सङ्क्रमणको सुहाउँदो रूप भन्दथे तर लेनिनले माक्र्स–एङ्गेल्सले अगाडि सारेका रूपलाई बदलिएको परिस्थितिमा अस्वीकार गरेर सोभियत गणतन्त्रलाई सर्वहारा वर्गको अधिनायकतन्त्रका लागि सर्वोत्तम राजनीतिक संरचनाका रूपमा अगाडि सार्नुभएको थियो ।

    स्टालिनले लेनिनवादको व्याख्यामा आफूलाई केन्द्रित नगरेर लेनिनवादका लागि आवश्यक पर्ने आधारको व्याख्या गर्नुभएको छ ।
    लेनिनवादका आधारहरू निम्न रहेका छन् : १. लेनिनवादका ऐतिहासिक जरा, २. तरिका, ३. सिद्धान्त, ४. सर्वहारा वर्गको अधिनायकत्व, ५. किसान समस्या, ६. जातीय समस्या, ७. रणनीति र कार्यनीति, ८. पार्टी, ९. कार्यशैली ।

    लेनिननवादका उपर्युक्त नौओटा आधारलाई सङ्क्षिप्तमा यसरी संश्लेषण गर्न सकिन्छ ।

    १. लेनिनवादका ऐतिहासिक आधार

    लेनिनवादको जन्म पुँजीवादका अन्तरविरोध चरम रूपमा देखा परेपछि सर्वहारा क्रान्ति तात्कालिक प्रश्न बन्न गएको अवस्थामा भएको हो । रुस तात्कालिक अवस्थामा साम्राज्यवादका सबै खाले अन्तरविरोध (श्रम र पुँजी, साम्राज्यवादी शक्तिबिच तथा साम्राज्यवादी र उत्पीडित राष्ट्रबिचको अन्तरविरोध) को केन्द्र रुस बनेको थियो । जारशाहीमाथिको आक्रमण साम्राज्यवादीमाथि आक्रमण हुन जाने भएकाले दुईटैमाथि प्रहार गर्नुपर्नेमा दुवैलाई एकार्काबाट अलग गरेर राख्दा आन्दोलन दिग्भ्रमित हुने विशिष्ट प्रकारको परिस्थिति थियो । त्यसका साथै विश्व कम्युनिस्ट आन्दोलनमा द्वितीय अन्तर्राष्ट्रियमा अवसरवादी विचारको प्रधानता थियो । उनीहरूसँग कुनै सुसङ्गत क्रान्तिकारी सिद्धान्त थिएन, वैधानिक संसदीय तथा शान्तिपूर्ण बाटोबाट पुँजीवादलाई खतम गर्न सकिने सोचाइ राख्दथे, जुन बदलिएको परिस्थितिका सम्भव थिएन । बदलिएको परिस्थितिअनुसारको जिम्मेवारी लेनिनले पूरा गर्नुभयो । यो परिस्थितिमा लेनिनवादको जन्म र विकास भयो ।

    २. तरिका

    मार्क्सवादी–लेनिनवादी तरिकाको विकास गर्ने सवालमा लेनिनले सिद्धान्त र त्यसअनुरूपको व्यवहारको एकतामा जोड दिनुभयो ।

    ३. सिद्धान्त

    लेनिनले क्रान्तिकारी सिद्धान्तबिना कुनै क्रान्ति हुन नसक्ने भन्दै सिद्धान्तको महत्त्वमाथि जोड दिनुभयो । सिद्धान्तलाई बेवास्ता गर्ने कार्य लेनिनवादको भावना विपरीत रहेको र त्यसबाट लक्ष्य प्राप्त हुन सक्ने कुरामा जोड दिनुभयो ।

    ४. सर्वहारा वर्गको अधिनायकत्व

    लेनिनले सर्वहारा वर्गको अधिनायकतन्त्रमाथि जोड दिनुभएको छ । सर्वहारा वर्गको अधिनायकतन्त्रसम्बन्धी काउत्स्की तथा बर्नस्टिनका अवसरवादी विचारका विरुद्ध भीषण सङ्घर्ष चलाउनुभयो । क्रान्तिको सफलतापश्चात् प्रतिक्रान्तिकारी शक्तिबाट क्रान्तिको उपलब्धिको रक्षा तथा विकासका लागि सर्वहारा वर्गको अधिनायकतन्त्रमाथि जोड दिनुपर्ने हुन्छ । बनिबनाउ प्रतिक्रियावादी राज्यबाट समाजवादी नीति लागु गर्न सकिन्न ।

    ५. किसान समस्या

    किसानलाई कुन वर्गले आफनो जगेडा शक्ति बनाउने ? त्यही कुरामा कुन वर्ग विजयी हुन्छ भन्ने कुरा आधारित हुन्छ । यदि मजदुर वर्गले किसानलाई आफ्नो पक्षमा पार्न सके नयाँ जनवाद वा समाजवादको स्थापना हुन्छ । यदि पुँजीपति वर्गले किसानलाई आफ्नो पक्षमा पारे भने त्यसबाट प्रतिक्रान्तिलाई मदत पुग्ने वा पुँजीवाद बलियो हुन्छ । त्यसैले किसानलाई सतर्कतापूर्वक क्रान्तिको पक्षमा डोर्‍याउनुपर्दछ ।

    ६. जातीय समस्या

    लेनिनवादले पुँजीपति वर्गको सत्तालाई समाप्त नगरी जातीय आधारमा गरिने सङ्घर्षले जातीय समस्या समाधान हुन नसक्ने दृष्टिकोण अगाडि सारेको छ । जातीय समस्यालाई वर्गीय समस्याको रूपमा अगाडि सार्नुभयो । लेनिनवादले आत्मनिर्णयको अधिकारलाई बढीभन्दा बढी जातिय अधिकारको अर्थमा मात्र सीमित नराखेर पूर्ण स्वाधीनतासहित स्वतन्त्र राज्यको निर्माणको अधिकारको रूपमा समेत व्याख्या गरेको छ ।

    ७. रणनीति र कार्यनीति

    सर्वहारा क्रान्ति तात्कालिक प्रश्न बनेका बेला क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सुरु गर्न रणनीति र कार्यनीतिको विकास गर्ने कार्य लेनिनद्वारा अगाडि बढाइयो ।

    ८. पार्टी

    मार्क्स, एङ्गेल्सदेखि लेनिनबिचको सम्पूर्ण अवधिमा दोस्रो इन्टरनेसनलको अवसरवाद एकछत्र आधिपत्यको अवधि थियो । तत्कालीन अवस्थामा मजदुरवर्गीय आन्दोलनमा दोस्रो इन्टरनेसनलका पार्टीको बोलबाला रहेको थियो । ती पार्टी सङ्घर्षको संसदीय रूपलाई नै मुख्य ठान्दथे । अझ काउत्स्कीले त खुला रूपमा नै भनेका थिए : “दोस्रो इन्टरनेसनलका पार्टीहरू शान्तिका साधन हुन्, युद्धका साधन होइनन्”। ती पार्टी “संसदीय निर्वाचन र संसदीय सङ्घर्ष चलाउनका लागि अनुकूल निर्वाचनयन्त्रभन्दा बढी केही थिएनन् अर्थात् दोस्रो इन्टरनेसनलका पार्टीहरू संसदीय निर्वाचनमा लड्न वा संसदीय सङ्घर्ष गर्न उपयुक्त भए पनि खुल्ला वर्गमुठभेड तथा क्रान्तिकारी सङ्ग्रामको अवधिमा त्यस प्रकारका ढिलाढाला संसदीय पार्टी क्रान्तिका साधन बन्न सक्दैनथे । त्यसैले लेनिनले खुला वर्गमुठभेड, सर्वहारा वर्गको क्रान्तिकारी कारबाही र सर्वहारा क्रान्तिको युगमा साम्राज्यवादको तख्ता पल्टाउन र सत्ताकब्जा गर्नका लागि नयाँ खालको पार्टीको अवधारणा अगाडि सार्नुभयो । यो नयाँ खालको पार्टी निम्न गुण तथा विशेषता हुनुपर्नेमा जोड दिनुभयो ।

    क. पार्टी मजदुर वर्गको अगुवा बन्नुपर्छ ।

    ख. पार्टी मजदुर वर्गको सङ्गठित दस्ता हो ।

    ग. पार्टी सर्वहारा वर्गको अधिनायकतन्त्रको साधन हो ।

    घ. पार्टी गुटबन्दीसित मेल नखाने सङ्कल्प एकताको प्रतीक हो ।

    ङ. अवसरवादी तत्त्वहरूलाई निकालेर पठाएपछि पार्टी बलियो बन्दछ ।

    ९. कार्यशैली

    लेनिनवादी कार्यशैली वा व्यवहार त्यस्तो खास तथा अनौठो विशेषता हो, जसले विशेष खालको लेनिनवादी कार्यकर्ता पैदा गर्छ । रुसी क्रान्तिकारी जोस तथा अमेरिकी कार्यदक्षता मिलेर लेनिनवादी कार्यशैली बनेको हुन्छ । रुसी क्रान्तिकारी जोसले विचारलाई प्रेरणा दिन्छ । नयाँ सम्भावनाका लागि ढोका खोल्छ । अमेरिकी कार्यदक्षताले विभिन्न अप्ठ्याराका अगाडि नझुक्ने, एक पल्ट कुनै काम सुरु गरेपछि त्यो सम्पन्न नहुँदासम्म काममा निरन्तर लागिपर्ने शैली हो । रुसी क्रान्तिकारी जोस तथा अमेरिकी कार्यदक्षतालाई नमिलाउने हो भने त्यो सिद्धान्तहीन व्यापारवादमा परिणत हुने खतरा हुन्छ ।

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.