• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पश्चिमा वर्चस्वले सिर्जना गरेको वैश्विक सङ्कट


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • डिल्ली अम्माई ##

    Advertisement

    विषाक्त पुँजीवादको कहर

    कर्पोरेट पुँजीवादले मानिस, प्रकृति, ज्ञान, सिप, जीव तथा प्रेमलाई किनबेचको वस्तुमा रूपान्तरण गर्दछ र नाफालाई अर्थराजनीतिको अन्तिम उपलब्धि मान्दछ । बजार पुँजीवादलाई ठुला पुँजीपतिले आफ्नो अर्थप्रणालीको फ्रेमभित्र राखेर सञ्चालन गर्दछन् । जब उनीहरू सङ्गठित हुँदै विशाल सञ्जाल बनाउन थाल्दछन्, त्यसले अन्तर्राष्ट्रिय जालोको रूप लिन्छ, संसारको औद्योगिक, प्राविधिक र वित्तीय व्यवस्थामा उनीहरूले पूर्ण वर्चस्व बनाएर संसारमा सङ्गठित शोषण गर्ने भएकाले त्यसलाई कर्पोरेट पुँजीवाद भनिन्छ । त्यहाँ बजार बिचौलियाको नियन्त्रणमा हुन्छ भने वस्तुको मूल्य क्रयशक्ति र मागबिचको सन्तुलनमा तय हुन्छ ।

    कर्पोरेट पुँजीवादले कच्चा पदार्थका लागि अरू देशलाई उपनिवेश बनाउने र लुट्ने गर्नाले उपभोक्ता देश र जनता कङ्गाल हुँदै जान्छन् । यस्तो व्यवस्थाको अन्तिम चरण साम्राज्यवाद हो । त्यसले मानिससहित देशलाई पनि उपभोक्ता हुँदै क्रमश: दास बनाउँछ, निचोर्छ र अन्तमा विश्वलाई कच्चा पदार्थको पूर्तिका लागि युद्धको भुमरीमा धकेल्छ । यस व्यवस्थामा मानवीय मूल्य वस्तुको मूल्य जस्तै हो ।

    कमजोर न्याकिन्छ र उसको अस्तित्व प्रतिष्पर्धाका कारण मेटिन्छ भने जित्नेहरूको इन्ट्रेस्टमा प्रणाली चलायमान हुन्छ । व्यापारका लागि प्रतिष्पर्धा र कच्चा पदार्थका लागि कब्जा यहाँ आम जस्तै हुन्छ । यसैका उदाहरण हुन्, अहिले विश्वभर चलिरहेका द्वन्द्व र युद्ध ।

    अहिलेसम्म संसारको वित्तीय र राजनैतिक प्रणालीको सम्राट उत्तर अमेरिका नै हो । उसका केही सहयात्रीहरू युरोपमा छन् भने संसारभर ९०० भन्दा बढी ठाउँमा स्थायी सैनिक क्याम्प रहेका छन् । यी सबै मिलेर उसले आफ्नो सोचअनुकूल विश्व व्यवस्था चलाइरहेको छ । ५०० वर्षदेखि अहिलेसम्मको वैश्विक वर्चस्व मोटामोटी युरोप र अमेरिकी नेतृत्वको वरिपरि नै छ । यो वर्चस्वको लडाइँमा युरोपियन युनियनले अमेरिकी महाद्वीप, अफ्रिका, एसिया, अस्ट्रेलियाका करोडौँ मानिसकोसफाया गरिसकेका छन् ।

    उनीहरूले गरेको जेनोसाइडको लिखित विवरणको उतार्नु धेरै नै मुस्किल कुरा हो ।

    फेब्रुअरी २४, २०२२ देखि चलिरहेको रुस–युक्रेन युद्ध होस् वा अक्टोबर ७, २०२३ देखि चलेको हमास–इजरायल युद्ध, सबैको सृजनाहार अमेरिका नै हो । साम्राज्यवादी अमेरिकाले इतिहासमा बालक, वृद्ध, महिला वा कुनै पनि देशका निरपराध मानिस मारिँदा दया, प्रेम र मानवता वा मानवीय करुणा व्यक्त गरेको इतिहास छैन । उसको चासो राष्ट्रिय स्वार्थ र आर्थिक लाभसँग मात्र रहन्छ ।

    त्योभन्दा अगाडिका इरान, इराक, सिरिया, प्रसियन गल्फ, लालसागरलगायत मध्यपूर्वका प्राय: सबै प्रत्यक्ष वा प्रोक्सी वार अमेरिकी इन्ट्रेस्टमा नै भएका व्यापारिक द्वन्द्वका बाइप्रोडक्ट हुन् । यी सबै युद्धको प्रमुख रहस्य वर्चस्वको छिनाझपटीभित्र रहे पनि यसको बाहिरी रूप वैश्विक व्यापार प्रतिष्पर्धाले ल्याएको द्वन्द्व हो भन्दा अत्युक्ति नहोला । यी सबै युद्धका कारणले गर्दा अहिले संसारमा आधुनिक हतियारको होड आकासिँदै गइरहेको छ । हतियार निर्माण र किनबेच इतिहासकै उच्च स्तरमा छ । यो टकरावले संसार कता जाँदै छ भन्नेतर्फ नै सङ्केत गर्दछन् ।

    संसारमा प्रविधि र हतियार निर्माणको विकासस्तर बाहिर जति देखिएको छ, भित्रभित्रै त्योभन्दा सयौँ गुणा बढी हुन सक्छ । चीन, इरान, उत्तर कोरिया र भारतले आफ्नो प्रविधिलाई गुणात्मक रूपले रूपान्तरण गर्दै लागेका छन् । उत्तर कोरियाको एउटा ह्याकरले संसारको इन्टरनेटजन्य सेवालाई ह्याक गरेर वा भाइरस पठाएर आधुनिक युद्धक्षमतालाई चुनौती दिन सक्ने अवस्थामा आइपुगेको छ ।

    एउटा भाइरसले संसारको सम्पूर्ण प्रणाली ठप्प पार्न सक्ने युग हो यो । यन्त्रविकास र रोबर्ट आर्मी, ड्रोन वा जहाजमा अत्याधुनिक प्रविधि, डिफेन्स सिस्टममा उत्तर कोरिया, चीन, इरानको प्रविधिले पुराना शक्तिराष्ट्र हायलकायल छन् । इजरायल र अमेरिकी शक्तिका पुराना मिथकहरू अहिले मजाकका विषय बनिरहेका छन् । युक्रेन–रुस युद्धमा जस्तै हमास र इजरायल युद्धमा पनि सबैको युद्धशक्ति, प्रविधि र कौशलको राम्रै परीक्षण भइरहेको छ ।

    अन्तर्राष्ट्रिय सङ्कट

    वैश्विक सङ्कट घट्दो हैन, बढ्दो छ । पश्चिमानियन्त्रित वैश्विक व्यवस्था भत्किने अवस्थामा छ । अमेरिकी विश्लेषकका अनुसार विश्व बहुध्रुवीय कोर्समा गई नै सकेको छ । यो सबै नवउदारवादी विश्वव्यवस्थामा आएको सङ्कट र त्यसले पैदा गरेका अनेकौँ अन्तरविरोधका कारण भएको हुन सक्ने आँकलन विश्लेषकको छ ।

    यी सबै अन्तरविरोध एक्कासि प्रकट भएका भने हैनन् । पुरानो वैश्विक प्रणालीमा देखिएका अन्तरविरोधहरू ऐतिहासिक त्रुटि, निषेधात्मक राजनैतिक प्रणाली, असंवेदनशील अर्थनीति, केही सांस्कृतिक पहिचानको खोजी र प्रविधिका क्षेत्रमा आएको बदलावका कारण विकसित हुँदै आएका हुन् । यो सबैको सङ्क्षिप्त अवस्था र परिवेशलाई नबुझी नवउदारवाद विरुद्ध पूर्व र दक्षिणका मूल्यगत अन्तरसङ्घर्षलाई बुझ्न सकिँदैन ।

    प्रोक्सी वारपछिको परिदृश्य

    अमेरिकाले जैस अदअदल, आइएसआईलगायत विश्वका सयौँ आतङ्कवादी सङ्घसंस्थालाई पोषण गर्दै आफ्ना दुस्मनको विरुद्ध प्रयोग गर्दछ । अब त्यो शैली इरान, रुसलगायत अन्य देशले पनि प्रयोग गर्न थालेका छन् । इरान समर्थित हुथी (यमन), हेजबुल्लाह (लेबनान) लगायतका प्रोक्सी सङ्घसङ्गठन त्यसैका उदाहरण हुन् । प्राविधिक हिसाबले उनीहरू पनि सशक्त बनाइँदै आएका छन् ।

    उत्तर अमेरिका र बेलायतलाई बृहत् युद्धमा लतार्ने योजनाका साथ पश्चिमा विरोधी मोर्चाले मध्यपूर्वमा हुथी र हेजबुल्लाहलाई अगाडि सारेको छ । लालसागरमै हुथीलाई अघि सारेर अमेरिका र बेलायतका मालवाहक पानीजहाजमाथि आक्रमण गरिएको छ । अमेरिकाको शक्तिलाई तौलेर आक्रमण गरिरहेका छन् हमास, हुथी र हेजबुल्लाहहरूले । पश्चिमा विरुद्धको सम्पूर्ण सहानुभूति यिनीहरूमाथि छ ।

    यिनीहरूको पछि ठुला शक्तिहरू जोडिएकाले पश्चिमाको प्रोक्सी लडाकासँग लड्ने चाहना थिएन । अब नचाहँदा नचाहँदै बेलायत र अमेरिका हुथी र हेजबुल्लाहको विरुद्ध लड्नुपर्ने अवस्था आउन थालेको छ । रुस, चीनलगायत ब्रिक्स समूहले चाहेको कुरा नै पश्चिमालाई युद्धमा तान्नु रहेको थियो । त्यसरी तानिँदा तालिबानसँग हारेको अमेरिका इरानसँग प्रत्यक्ष रूपमा लड्नुपर्ने हुन सक्छ ।

    अमेरिका युद्धमा तानिनेबित्तिकै रुस, चीन र उत्तर कोरिया र अन्त्यमा ब्रिक्स देशसँग उसले एकैपटक लड्नुपर्ने हुन सक्छ । तिनै कारणले गर्दा प्रोक्सी युद्ध लम्ब्याउने योजनामा हुथीले ६ लाख सैनिक भर्ना गर्दै छ ।

    अमेरिकाले छोयो कि देश जल्यो भन्ने कुरा लगभग प्रमाणित सत्य जस्तै देखियो । युक्रेन, इराक, सिरिया, अफगानिस्तान, यमन, भियतनाम, दक्षिण अमेरिका, निकारागुवा ध्वस्त भएर सकिएका देश भए । अमेरिकी बेसक्याम्प भएका देशको अवस्था पनि अन्तत्वगत्वा हुने त्यस्तै हो किनकि अमेरिकी उक्साहटकै कारण युद्ध विस्तारै फैलिने क्रममा छ ।

    सेनाको सहयोग र अमेरिकी डिजाइनमा गरिएको चुनावले निम्त्याएको सङ्कट र गुटबन्दीले पाकिस्तान पनि गिजोलिन थालेको छ । प्रदर्शन हिंसात्मक बन्दै छन् । जनमत पश्चिमाको विरुद्ध छ । संसदीय चुनावको लगत्तै पाकिस्तानमा गृहयुद्ध हुने अवस्था सिर्जना हुँदै छ ।

    “अमेरिकाले जहाँ टेक्छ, त्यो कि सिरिया हुन्छ कि इराक” हेनरी किसिन्जरको यो भनाइ पाकिस्तानको हकमा पनि लागु होला जस्तो छ ।

    पूर्वप्रधानमन्त्री इमरान खानले अमेरिकालाई अमेरिकी सेना राख्न आकाश र स्थान नदिएका कारण सत्ताबाट अपदस्त भई जेल जानुपर्‍यो तर जनमत इमरान खानको पक्षमा रहेको कुरा चुनावमा उनका उम्मेदवारले ल्याएको सिट सङ्ख्याले पनि प्रमाणित गरिदिएको छ ।

    नयाँ ध्रुवीकरण

    यसपटक अमेरिकालाई तह लगाउने योजनामा संसारका सबै उत्पीडित राष्ट्र छन् । पश्चिमा विश्लेषकका अनुसार अब अमेरिकी सैन्य शिविर हान्ने तयारीमा हुथी छन् । पूर्वमा उत्तर कोरिया हान्ने तयारीमा छ । रुस, चीन, इरान मौकाको पर्खाइमा छन् । सिङ्गो अफ्रिकामा साम्राज्यवादी शक्तिहरू हात धोएर निस्कने तर्खरमा छन् । अमेरिकी ब्यारेकमा व्यापक आक्रमण सुरु भइरहेको छ । अमेरिकीहरू इराक र सिरियाबाट पनि भाग्ने दिन कुरेर बसेका छन् । यदि ब्यारेकमा अमेरिकन सैनिक मरे भने अमेरिका युद्धबाट फर्कन नसक्ने गरी फस्ने चिन्ताले अमेरिका कामिरहेको छ ।

    अमेरिकी साम्राज्यवादलाई आफ्नो भूमिबाट लखेट्ने योजनामा नै मध्यपूर्व युद्धमा सबै शक्ति लागेका छन् । “सन् २०२४ उथलपुथलको वर्ष हो र त्यसको इपिसेन्टर मध्यपूर्व हो” (तास डट कम) रुसका गुप्तचर प्रमुख सर्गेइ नारस्किनले इटलीमा भनेको यो भनाइले अबको वैश्विक अवस्थालाई धेरै तयारीका साथ सङ्केत गरिरहेको बताइन्छ ।

    अहिले वैश्विक शक्तिकेन्द्रको ध्रुवीकरण यति तीव्र भएको छ, अमेरिका विरुद्धमा उभिएका देशहरू पूर्ण रूपले रणनैतिक तालमेलमा छन् । कसले, कति बेला, कस्तो भूमिका खेल्ने ? उनीहरू चुस्त आन्तरिक सूचनाको पर्खाइमा छन् । अहिले एक्लै कोही पनि छैन ।

    वैश्विक राजनीतिको आन्तरिक अवस्थालाई विश्लेषण गर्दा अमेरिका र इजरायल संसारबाट अलगथलग हुने अवस्थामा पुगेको देखिन्छ ।

    विद्रोहीहरू शक्तिराष्ट्रकै आडभरोसाले लडिरहेका छन् । अमेरिकासँग युद्ध गरिरहेका विद्रोहीहरू युद्धकला र प्रविधिमा कति माथि छन् भन्ने कुरा अमेरिकाको खुफियालाई थाह नै थिएन भन्न मिल्दैन । बेला बेलामा सिआइएले हुथी र हेजबुल्लाहलाई युद्धमा नतान्न अनुरोध गरेकै थियो । प्रोक्सी युद्ध लडिरहेका विद्रोही समूह प्रविधि र रणकौशलमा अमेरिकालाई टक्कर दिन सक्ने हैसियतमा रहेछन् भन्ने कुरा संसारले बुझ्न पायो । हमासले इजरायल र अमेरिकाका कथित मिथकलाई पनि संसारसामु नाङ्गेझार पारिदियो । यस मानेमा हमासले युद्ध जितिसकेको मान्नेहरू पनि छन् ।

    अब इरान पनि अमेरिकाद्वारा थोपरिएको युद्धमा तानियो भने अमेरिकालाई साथ दिने केवल बेलायत मात्र बाँकी रहने निश्चित छ । त्यो अवस्थाले अमेरिका हच्केको मात्र छैन, इरानसँग भिड्दा रहस्यमय पान्डुरा बाकस खुल्न सक्ने भयले तर्सेको छ । “इरान के हो, के हो ?” ड्रोन त त्यति खतरा छ, आणविक र हाइपरसोनिक प्रविधि पनि छ कि या आणविक बम पनि बनाइसक्यो कि ? यो गोलाद्र्धमा चीन, उत्तर कोरिया, रुस र भारतसमेत भएकाले पश्चिमाहरू इरानलाई जिस्काउने वा ललकार्ने पक्षमा छैनन् ।

    आइसिजेमा आम नरसंहारको मुद्दा फैसलापछिको अवस्था

    दक्षिण अमेरिकाद्वारा अन्तर्राष्ट्रिय अदालतमा इजरायलले गरेको आम नरसंहारको विरुद्ध मुद्दा दर्ता गरेपछि संसारभरि हलचल मच्चिएको छ । दक्षिण अफ्रिका उत्पीडित देश र जनताको पक्षमा गर्विलो छाती बनाएर एकाकार भएको छ । साम्राज्यवादलाई कहिल्यै बिर्सन नसक्ने चुनौती दिँदै न्यायका लागि दक्षिण अफ्रिका सिंह झैँ गर्जेको छ ।

    यता, इस्लामिक कानुन र मुसलमान भाइ भाइको फुइँ छाड्ने कथित शक्तिशाली भनाउँदा अरबियन देशहरू आफ्ना फिलिस्तिन बन्धुको समूल सफाया हुँदा इजरायली फासिष्टकै पाउपूजा गरेर बसिरहेका छन् । यो दृश्यले उनीहरूको कथित बहादुरीको भूमि पनि लाजले झुकेको छ । ब्रह्माण्डभरि अरब लिगको कायरताको धज्जी उडेको छ । दक्षिण अफ्रिकाको न्यायपूर्ण कानुनी लडाइँले अमेरिका र इजरायललाई संसारको सामु नाङ्गेझार पारिदियो । यो मुद्दाले गर्दा अरूका देश लुट्न यिनीहरूले कसरी एउटा देशका सम्पूर्ण नागरिकको विनाश गर्दा रहेछन् भन्ने कुरा अब स्वयम् जान्ने बुझ्ने मौका मिल्यो ।

    गत फेबु्र्रअरी ७ का दिन इजरायललाई गाजामा मानवअधिकारको व्यापक उल्लङ्घन गरेको कुरा अन्तर्राष्ट्रिय अदालतबाट प्रमाणित भएपछि संसारभरि अमेरिकी साम्राज्यवाद र उसको कठपुतली इजरायलका विरुद्ध संसारभर प्रदर्शन भइरहेका छन् । स्पेनले इजरायललाई हतियार नदिने घोषणा गर्‍यो । केही देशले विभिन्न आपराधिक मुद्दामा मुद्दा हाल्ने तयारी गरिरहेका छन् । त्यस्तै, जापानले पनि अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै जापानमा भएको इजरायली हतियार कम्पनी (एल्पिट) लाई देशनिकाला गरिदिएको छ ।

    झुटा प्रोपागान्डा

    पुटिन, चीन, कोरिया वा साम्राज्यवाद विरोधी शक्तिलाई दानवीकरण गर्दै आएको पश्चिमा साम्राज्यवादको मानवअधिकारको च्यादर युक्रेन र गाजाको प्रोक्सी वारमा हावाले उडाएपछि ऊ विश्व जनमतबाट नाङ्गिएको छ । उसले अलजजिरा जस्ता केहीबाहेक संसारका प्राय: मिडियालाई लगानीमार्फत कब्जामा लिएको छ । कुल पुँजी ४९.४२ ट्रिलियन रहेको संसारको सबैभन्दा ठुलो बहुराष्ट्रिय वित्तीय कम्पनी ब्ल्याक स्टोनलगायत मार्फत प्र्रत्यक्ष वा परोक्ष रूपले पुँजीवादी मिडिया नियन्त्रित छन् । इन्ट्रेस्ट बाझियो भने पत्रकारहरू मिडिया हाउसबाट निकालिन्छन् वा मारिन्छन् । त्यसैले मिडियामा साम्राज्यवादीको अदृश्य नियन्त्रण छ । अझ फक्स न्युजका लागि विश्वप्रसिद्ध अमेरिकी पत्रकार टुकर काल्र्सनले लिएको भ्लामिदिर पुटिनको अन्तर्वार्तापछि पश्चिमामा कम्पन पैदा भएको छ । पश्चिमा जनतालगायत संसारले अमेरिकी उक्साहटमा भएको प्रोक्सी युद्धलाई भिन्न कोणबाट बुझ्ने अवसर पाएका छन् ।

    त्यस्तै, अमेरिकी राष्ट्रपतिका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेबु्रअरी १२, २०२४ को चुनावी सभामा दिएको चुनाव जितेपछि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) लाई सहयोग बन्द गर्ने र रुसलाई सहयोग गर्ने मन्तव्यले पश्चिमा जगत्मा कोलाहल मच्चिएको छ ।

    युनाइटेड नेसन्स रिलिफ एन्ड वर्कर्स एजेन्सी (यू.एन.आर.डब्लू.ए.) का कर्मचारीले हमासको आक्रमणमा सहभागी भएको भन्ने इजरायलले आरोप लगाएपछि अमेरिकालगायत केही देशले अनुसन्धानपूर्व प्यालेस्टाइन रिफ्युजीलाई दिने सहयोग रोके । देशको नाम नै लिएर भन्नुपर्दा क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, इटली, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फिनल्यान्ड, इस्टोनिया, जापान, अस्ट्रिया र रोमानियाले युनाइटेड नेसन्स रिलिफ एन्ड वर्कर्स एजेन्सीलाई दिने बजेट रोक्ने घोषणामा अमेरिकालाई साथ दिए । बेल्जियम, स्पेन, पोर्चुगल, अस्ट्रेलियालगायत देशले सहयोग बजेट नरोक्ने बरु बढाएर दिने घोषणा गरेका छन् । यसले पनि युरोपियन युनियनभित्रको अन्तरसङ्घर्षलाई सतहमा ल्याइदियो ।

    अमेरिकामा आन्तरिक सङ्कट

    अर्कोतर्फ, अमेरिका आफ्नै देशभित्र द्वन्द्वमा फस्ने खतरा उत्तिकै छ । टेक्सासलगायत केही भूभागले आफ्नो राज्य अलग हुन चाहेको बताइरहेका छन् । “मेक अमेरिका ग्रेट अगेन” अभियानले अमेरिकाबाट एङ्लो सेक्सनका राज्य र मेक्सिकनलगायत काला जाति भएका राज्य अलग हुने सम्भावनालाई बढाएर लागेको छ । जब देश कमजोर हुँदै जान्छ, त्यसपछि गृहयुद्धद्वारा देश विभाजन हुने खतरा बढेर जान्छ । इतिहासमा यस्तै हुने गरेको छ ।

    त्यस्तै, डेमोक्र्याटका न्यायाधीशहरूले राष्ट्रपति चुनावमा बाइडेनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पलाई आगामी चुनावमा उठ्न नपाउने गरी लामो समय जेल राख्नुपर्ने अन्यथा अमेरिकाका लागि खतरा हुने बताइरहेका छन् । यदि ट्रम्पलाई त्यसो गरिएमा हतियार उठ्ने भनेर रिपब्लिकन पार्टीका नेताहरूले धम्की दिइसकेका छन् । सरकारी तथ्याङ्कअनुसार ३३.५ करोड उत्तर अमेरिकीले ४७ करोड स्वचालित राइफल र मेसिनगन घरमा राख्छन् भनिन्छ । यदि अमेरिका आन्तरिक युद्धमा फस्यो भने ती सबै हतियार प्रयोग हुने सम्भावना रहन्छ ।

    सारमा अमेरिकाले संसारभरि पश्चिमा सामरिक, सांस्कृतिक, धार्मिक र पुँजीवादी मूल्यमा आधारित राजनैतिक वर्चस्व कायम गर्न सुरु गरेको झन्डै ५०० वर्ष भयो । अहिलेसम्म उसले औपनिवेशिक लुट र वर्चस्वको लडाइँमा विश्वमा धेरै युद्ध थोपरिसकेको छ । उसले युद्ध थोपर्नका लागि प्र्रत्यक्ष आक्रमण गर्नु एउटा तरिका हो । त्यसबाहेक आन्तरिक विद्रोह गराउने, छिमेकीसँगको अन्तरविरोधलाई चर्काएर युद्ध गराउने, आर्थिक तथा व्यापारिक प्रतिबन्ध लगाउने र कूटनैतिक धम्कीमार्फत दबाब दिने कुरा पर्दछन् ।

    आफ्नो हितबाहेक अमेरिकाको दीर्घकालीन शत्रुमित्र कोही हुँदैन । त्यसैले पूर्व अमेरिकी राजनीतिज्ञ हेनरी किसिन्जरले भनेका छन्– “अमेरिकासँग दुस्मनी मोल्नु खतरनाक हो भने मित्रता गर्नु झनै भयावह ।” आखिर अमेरिकाको मित्र हुनु सुरुमा राम्रो चिजका लागि मार्गप्रशस्त भए जस्तो लाग्न सक्छ तर अहिलेसम्मको नतिजा हेर्दा घातक परिणाम देखाइरहेको छ । लादेन, सद्दाम, गद्दाफी सुरुमा अमेरिकाका अनन्य मित्र थिए तर अन्त्यमा उनीहरूलाई अमेरिकाले नै मार्‍यो ।

    यसलाई अर्को उदाहरणबाट यसरी प्रष्ट पार्न सकिन्छ । गत वर्ष दुई देशको विवादका कारण अस्ट्रेलिया र चीनबिच एक व्यापारिक सम्झौता रद्द भएको थियो । त्यो विवादपछि चीनले अस्ट्रेलियाको जौ किन्न बन्द गर्‍यो तर अस्ट्रेलिया अमेरिकाको सहयोगी मित्रदेश भएको ठानिए पनि अमेरिकाले अस्ट्रेलियासँगको सम्झौता भङ्ग गरी चीनलाई अमेरिकी जौ बेच्न पाउँदा अत्यन्त खुसी भयो । फ्रान्स र अस्ट्रेलियाबिच भएको पनडुब्बी सम्झौतामा पनि अमेरिका खेल्यो र त्यो सम्झौता रद्द गराई आफ्नो सामरिक पनडुब्बी अस्ट्रेलियालाई बेच्यो । रुसको तेल, ग्याँस बन्द गर्न लगाएर युरोपमा आफ्नो तेल र ग्याँस अति महङ्गो मूल्यमा बेच्ने अमेरिकाका लागि मित्रभन्दा प्रिय पैसा भयो । उसले रुसबाट युरोपलाई तेल किन्न दिएको छैन तर आफूले किनिरहेको छ ।

    अमेरिकाको स्वार्थी नीतिका कारण उसका युरोपियन मित्रले फ्रान्स, जर्मनीलगायत युरोपले चित्त त दुखाए, नजिकको मित्रले दिएको दु:ख टाढाको शत्रुले दु:खभन्दा अत्यधिक पीडादायी र भयानक हुन्छ भन्ने कुरा त्यो बेला फ्रान्सले दिएको प्रतिक्रियाबाट थाह हुन्छ ।

    शीतयुद्धको समाप्तिपछि नै अमेरिकालगायत पश्चिमाहरू तेस्रो विश्वयुद्धको तयारीमा लागेका हुन् । त्यो तयारी ९० को दशकपछि नयाँ चरणको युद्धमा गयो । अफगानिस्तान, इरान, इराक, यमन, सिरिया, युक्रेन, रुस, कोरियालगायतका देशमा अमेरिकाले युद्धको कारक र कारण निर्माण गर्दै आएको छ । कारणहरू बलिया नहुन्जेल अमेरिकाको पृष्ठपोषणमा हुर्कन्छ तर बलिया भइसकेपछि उसकै लागि आत्मघाती हुने हुँदा ऊ दिक्क छ । अमेरिकन रणनीतिमा कारक–कारणको निर्माणविधि त्रुटिपूर्ण रहेको केही रणनीतिकारले बताए पनि ऊ अहिलेसम्म सिरियामा रहेको क्रुदिस्ट आन्दोलन, जैस असअदल, आइएसआईलगायतका आतङ्की सङ्गठनलाई आफ्नो अनुकूलतामा प्रयोग गर्दै आइरहेको कसैका अगाडि छिपेको छैन ।

    अमेरिकी साम्राज्यवाद तेस्रो विश्वयुद्धको लागि व्यस्त र व्यग्र छ । उसकै कारण तेस्रो विश्वयुद्ध लगभग अपरिहार्य जस्तै बनिरहेको छ ।

    त्यो विनाशकारी युद्धलाई रोक्न सबै उत्पीडित राष्ट्रहरू एक हुनुको विकल्प हामीसँग छैन ।

    पश्चिमा शक्ति आन्तरिक कारणले धरासायी हुने अवस्था पनि आइसकेको छ । आकाशबाहेक आगामी तेस्रो विश्वयुद्धका तीन बिन्दु पूर्वीयुरोप, मध्यपूर्व र पूर्वी एसियाको ताइवान सम्भावित युद्धस्थल हुन सक्ने अवस्था छ । यो युद्ध जमिन क्षेत्रमा मात्र हुने छैन, इन्टरनेट र डाटा सेक्युरिटीमा एउटा भाइरसले प्रविधिलाई आफ्नो कब्जामा लिने हदसम्म जाने छ । स्पेसका सबै सेटलाइट सर्किट वा नेटवर्क ध्वस्त हुने छन् ।

    अन्त्यमा, युद्धबाट हुने मानव सभ्यताको आगामी विनाशलाई रोक्न सबै देशबाट साम्राज्यवादी क्याम्प धपाउने अभियान अझै तिखार्नु आवश्यक छ । उदार पुँजीवादका विरोधी मौलिक सभ्यताका समर्थक, राष्ट्रवादी, परम्परावादी तथा वामपन्थी शक्तिको वैश्विक संयुक्त मोर्चा अहिलेको आवश्यकता हो, जसको भ्रुणको रूपमा ब्रिक्सले जन्म लिइसकेको छ । राष्ट्रिय रूपमा पनि त्यही मोडेलमा संयुक्त मोर्चा बनाएर साम्राज्यवादी पृष्ठपोषक एनजिओ, आइएनजिओ, सांस्कृतिक साम्राज्यका लागि परिचालित मिसनरी, अमेरिकी बेसक्याम्प र पश्चिमाका लागि जासुस गर्ने मानवअधिकारवादीलाई देशबाट धपाउने अभियान सुरु गर्नुपर्छ ।

    अबको वैश्विक क्रान्ति सतहमा देखिएका दृश्यमा मात्र सीमित नभएर परिस्कृत प्रजातन्त्रलाई पहुँच, समावेशिता, पूर्ण सहभागिता र समानतासँग घनीभूत रूपमा जोडिएर आउने छ । आफ्नै मौलिकतामा फुलेको एउटा फूल जस्तो आभा जनताको खुसीमा देखिने छ । नवीन प्रजातन्त्रमा शक्तिको प्रतिस्पर्धालाई सहअस्तित्वले पछार्ने छ भने मानिसको खुसी र सामूहिक उत्तरदायित्वबोधले सिङ्गो विश्वलाई अझ उत्कृष्ट मानव महासङ्घमा रूपान्तरण गर्ने छ ।

    (लेख तयार पार्दा ग्लोबल टाइम्स डट कम, गुगल न्युज, वार रिपोर्ट, अलजजिरालगायत विभिन्न विश्लेषकका अन्तर्वार्ताबाट सन्दर्भ लिइएको छ ।)

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.