काठमाडौं । केन्द्रमा प्रतिनिधित्वि गर्ने राजनीतिज्ञहरुको कर्णालीप्रतिको दृष्टि कस्तो छ ? उनीहरुले व्यक्तिगत वा नीतिगतरुपमा कर्णालीलाई कसरी हेर्छन् ? कर्णालीको विकासका लागि संघीय राजनीतिमा कस्ता छलफल र बहस हुन्छ ? यी विभिन्न विषयमा देशका दुई ठूला दलका नेताहरुले कर्णालीप्रतिको आफ्नो दृष्टिकोण जाहेर गरेका छन्।
कर्णाली उत्सवको दोस्रो दिन आइतबार ‘कर्णाली दृष्टि’ भन्ने वहसमुलक सत्रमा वक्ताका रुपमा रहेका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कर्णालीका बारेमा आफ्नो बुझाई राखेका हुन्।
एमालेका उपमहासचिव ज्ञवालीले कर्णाली पहिलेको तुलनामा परिवर्तन भएको बताए। सम्भावनाको ढोका खुल्न लागेको तर उघ्रिनसकेको प्रदेशका रुपमा आफूले कर्णालीलाई बुझेको उनले बताए।
नेपालको मुलधार राजनीतिमा कर्णालीलाई कसरी हेरिन्छ ? भन्ने सहजकर्ताको प्रश्नमा ज्ञवालीले भने, ‘हिजोको कर्णाली इतिहास हो, आजको कर्णाली हामीले भोगिरहेको वास्तविकता हो, भोलीको कर्णाली सम्भावना हो।
यहाँबाट उत्पत्ति भएको भाषा नेपालको मूल भाषा बनेको छ, कर्णालीकै भूगोलको जगमा उभिएर आजको नेपाल निर्माण भएको छ,’ उनले अगाडि भने, ‘हिजो गौरवपूर्ण इतिहास भएको कर्णाली आज विविध कारणले पछाडि परेको छ, समन्यायिक र समुन्नत विकासको अवधारणाभित्र कर्णाली पर्नुपर्छ।’
पछिल्लो समय कर्णाली परनिर्भर भएको आभास आफूले गरेको उनले बताए। खाद्यान्न भनेकै भात खानु हो भन्ने बुझाई बनेपछि कर्णालीमा परनिर्भरता बढेको उनको बुझाई छ। उनले कर्णालीको रैथाने बालीलाई खानाका रुपमा नलिईनु बिडम्बना भएको बताए।
कर्णाली केन्द्रित भई काम गरेका सरोकारवालाहरु र संघीय नेतृत्वको ध्यान नजाँदा कर्णालीमा बन्नैपर्ने संरचना नबनेको ज्ञवाली बताउँछन्। कर्णाली पछि पर्नुको यो एउटा कारणको रुपमा रहेको उनी बताउँछन्। राज्य चलाउनेक्रममा सहभागी राजनीतिज्ञहरुले नीतिहरु बनाउँदा कर्णालीको वस्तुगत अवस्था बुझेर अघि बढ्नुपर्ने र यसका लागि बहस पनि सुरु भएको ज्ञवालीले बताए।
प्रदेशमा भएको सम्भावनालाई हेरेर विकासको ढोका खोलिदिने बाटोमा दलहरु हिँडेमा कर्णाली समृद्ध हुन समय हुन नलाग्ने उनले बताए।
‘कर्णालीले सुविधा नै नपाएको भन्ने होईन, भएका नीति कार्यान्वयन नभएकाले बागमतीलाई दिइने जति सुविधा कर्णालीले नपाएको हुन सक्छ’ उनले भने।
कर्णालीमा राजनीतिक दलहरुले प्रतिवद्धता गरेअनुसार विकास भएका आभास आफूले गर्न नपाएको नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बताए।
‘कर्णालीवासी भात खान मन पराउँछन्, त्यसैले चामल पठाइदिए हुन्छ’ भन्ने संघको बुझाई कर्णालीको अन्य विकासको बाधक भएको उनले बताए।
‘कर्णालीलाई मैले सुन्दा गरिब देशको पनि गरिब बस्तीका रुपमा सुनाईराखियो, त्यतिबेलादेखि नै कर्णालीको विकासका निम्ति ठोस योजना बनेको देख्दिँन,’ पौडेलले भने, ‘कर्णाली गरिब होईन, गरिब हो भनेर चिनाईएको हो। कर्णालीले मात्र देशलाई समृद्ध बनाउन सक्छ।’
कर्णालीका सांस्कृतिक बस्ती, हिमाल र पर्यटकीय स्थल, स्याउ उत्पादन, कृषि जस्ता सम्भावनालाई खोतल्नतिर राज्य सञ्चालन गर्ने राजनीतिज्ञहरु लाग्नुपर्नेमा उनले जोड दिए। कर्णालीलाई सही ढंगले चिनेर त्यसअनुसारको योजना बनाउने अभ्यास नभएको उनले बताए।
पौडेलले कर्णालीको स्रोत पहिचान गरी त्यसअनुसार योजना बनाएर अघि बढ्न सकियो भने कर्णालीलाई देशकै समृद्ध बनाउन सकिने औंल्याए।