महेन्द्रनगर । प्रहरीविरुद्ध लेखेको आरोपमा पक्राउ परेको कञ्चनपुरका दुई पत्रकारलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कञ्चनपुरले अनुमति दिएको छ ।
विद्युतीय अपराध मुद्दामा पक्राउ परेका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो ।
फेसबुकमा प्रहरीविरुद्ध लेखेर चरित्र हत्या गरेको आरोपमा विद्युतीय अपराध मुद्दामा जाहेरी आएपछि शनिबार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरी निरीक्षक बिनु शाहीमाथि यातनाको आरोप लगाएको भिडिओ पत्रकार पुष्कर भट्टले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका थिए।
त्यसपछि निरन्तर उनले प्रहरी निरीक्षक शाही र जिप्रका कञ्चनपुरका प्रमुख एसपी कमल थापाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।
भट्ट माउन्टेन टेलिभिजन र कुँवर आभाषकुञ्ज दैनिकमा कार्यरत छन्। दुई पत्रकार समातिएपछि कञ्चनपुर प्रहरीको आलोचना भइरहेको छ ।
कञ्चनपुर प्रहरीले प्रतिशोध साँध्न पत्रकारलाई पक्राउ गरेको भन्दै महासंघ र विभिन्न संघ संस्थाले विरोध गरेका छन् ।