काठमाडौं । नेकपा (मसाल) ले पार्टीका सदस्य पृथ्वीराज कँडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
बाग्लुङको काठेखोला–५ बिहुँ निवासी पृथ्वीराज कँडेल (का. कासीराम) को ७९ वर्षको उमेरमा यही माघ २२ गते मृत्यु भएको थियो ।
मसाल महामन्त्री मोहनविक्रम सिंहले कँडेलको निधनप्रति शोक वक्तव्य प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
कँडेलले पार्टीको बाग्लुङ जिल्ला समितिमा रहेर २०३६ सालदेखि भूमिका निर्वाह गर्दै आउनु भएको तथा विभिन्न मोर्चामा रहेर पनि जिम्मेवारी पूरा गर्नु भएको महामन्त्री सिंहले बताउनुभएको छ ।
यस्तो छ शोक वक्तव्य
बाग्लुङ जिल्ला काठेखोला–५ बिहुँ निवासी कामरेड पृथ्वीराज कँडेल (का. कासीराम) को ७९ वर्षको उमेरमा २०८० माघ २२ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजन तथा बाग्लुङ जिल्लाका सम्पूर्ण पार्टी सदस्यप्रति हार्दिक समवेदना र सहानुभूति प्रकट गर्दछौँ ।
कामरेड कँडेल हाम्रो पार्टीको धेरै पुरानो पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँ लगातार करिब ५२ वर्षदेखि हाम्रो पार्टीको सदस्य रही काम गर्दै आउनु भएको थियो । उहाँले २०३६, २०४६ र २०६३ सालका आन्दोलन र सङ्घर्षमा बाग्लुङ जिल्लामा सक्रिय भूमिका खेल्नु भएको थियो । उहाँले हाम्रो पार्टीको बाग्लुङ जिल्ला समितिमा समेत रहेर २०३६ सालदेखि भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।
हाम्रो पार्टीका विभिन्न मोर्चामा रहेर पनि उहाँले जिम्मेवारी पूरा गर्नु भएको थियो । उहाँ पछिल्लो समयमा काठेखोला पार्टी समितिको सल्लाहकार हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीले अनुशासित, प्रतिवद्ध, जुझारु, मिलनसार, निरन्तर लक्ष्यमा समर्पित भइरहने निस्वार्थी एवम् निर्भयी सदस्यलाई गुमाउनु परेको छ । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति सम्मानपूर्वक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८० माघ २४ गते ।
मोहनविक्रम सिंह
महामन्त्री