खिमराज चालिसे, चन्डिगढ ।
भारत हरियाणा राज्यको हिसारमा गम्भीर बिमारीसहित जन्मेका एक शिशुलाई उपचारका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेपछि ज्यान बाँचेको छ ।
मूल प्रवाह हिसार नगर समितिअन्तर्गत सिटी एरिया समिति बीले सो अठासी हजार नेरु सहयोग गरेको हो ।
जनवरी ५, २०२४ का दिन हिसारको अन्नमन्डीमा मजदुरी गरेर जीवन निर्वाह गर्दै आइरहेका मिनबहादुर रास्कोटी र निरुमती रास्कोटीका पुत्र प्राप्ती जन्मदै मुटु र फोक्सोमा गम्भीर समस्या देखिएको र सोही कारण श्वासप्रश्वास समस्या परेको चिकित्सकले बताएका थिए । समस्या थाहा पाएपछि मूल प्रवाहले उपचारका लागि पहल सुरु गरेको थियो ।
हिसारस्थित जीवन अस्पताल ऋषिनगरमा २३ दिनसम्म उपचार गराइएको निज बालकलाई उपचारबापत उक्त रकम मूल प्रवाहले सहयोग गरेको थियो ।
पाल्पा जिल्ला रैनादेव छहरा गाउँपालिका वडा नम्बर ६ जुठापौवा उर्लेर निवासी मिनबहादुर रास्कोटी र निरुमति रास्कोटी आफ्नो बच्चाको उपचारपछि जनवरी २८ का दिन अस्पतालबाट डेरामा फर्केका छन् । उनले मूल प्रवाहलाई धन्यवादसमेत दिएको केन्द्रीय नेता तारा सोमरेले बताउनुभएको छ ।