काठमाडौं । भारतको खर्चमा २८ जना सांसदहरू भारतको दिल्ली र हिमाञ्चल भ्रमणमा जाने भएका छन् ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका दुई टोली भारतको खर्चमा त्यहाँ जान लागेका हुन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाका अनुसार बाँदरको बन्ध्याकरण प्रविधि बुझ्न सांसदहरू हिमाञ्चल प्रदेश जान लागेका हुन् ।
समितिले कृषि र वन मन्त्रालयसँग समन्वय गरेर १० जना भेटेरिनरी डक्टर र पाँचजना फरेस्ट रेन्जरलाई फेब्रुअरी पहिलो साता तालिमका लागि हिमाञ्चल पठाउँदै छ, यसमा भारत सरकारको सहयोग रहनेछ । त्यसपछि दोस्रो साता २० जना सांसदहरूको टोली भारतको सहयोगमा त्यसतर्फ जाने तयारी रहेको समिति सचिवालयले जनाएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति राजकिशोर यादव नेतृत्वको प्रतिनिधिमण्डलले ३० जनवरीदेखि ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्न जाँदैछ ।
सभापति यादवको नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै त्यहाँका सभामुखसँग भेट गर्नेछ । सभापति यादवका अनुसार नेपाली प्रतिनिधिमण्डलले भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिका सभापति र सदस्यहरू द्विपक्षीय अनुभव आदानप्रदान गर्नेछ ।