काठमाडौं । लागुऔषध मुद्दामा हिरासतमा रहेका एक भारतीयलाई भगाएको आरोप लागेका तत्कालीन प्रहरी १६ वर्षपछि पक्राउ परेका छन् ।
भारत पूर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने वर्ष अन्दाजी ३९ को असरफ आलम २०६४ जेठ ९ गते राति महानगरीय प्रहरी परिसर कार्यालय नयाँबानेश्वरको हिरासत कक्षबाट फरार भएका थिए ।
उनलाई भगाउने सोही प्रहरी कार्यालयमा कार्यरत तत्कालीन प्रहरी जवान विरवल राय यादव थिए ।
करिब १६ वर्षपछि प्रहरीले यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन ईकाई नयाँबानेश्वरबाट पक्राउ भई लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसरको हिरासत कक्षमा रहेका ती भारतीयलाई प्रहरी यादवले रकम लिएर भगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
रौतहटको पथरावुधराम–३ घर भएका तत्कालिन प्रहरी जवान यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत समेत गरी इन्सपेक्टर सावले बोलाउनु भएको छ भनि हिरासत कक्षबाट हतकडी समेत लगाई बाहिर निकालेर ति थुनुवालाई भगाएको प्रहरीको आरोप छ।
यादवले तत्कालिन समयमा १ करोड रुपैयाँबाट सुरू गरी १० लाखमा डिल गरी रू ६ लाख २५ हजार पाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनले प्रहरी निरीक्षक (फिल्ड अधिकृत) को किर्ते दस्तखत गरी प्रतिवादिलाई हिरासतबाट निकाली कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्याएका थिए।
प्राप्त रकमले भारतको कोलकत्तामा दुई वटा ट्याक्सी खरिद गरी चलाउँदै आएकोमा हाल नौ वटा ट्याक्सी रहेका छन्
उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राईभिङ्ग लाइसेन्स समेत बनाएको बुझिएको छ।
यादव हाल भारतको कोलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए।
हालसम्म फरार रहेका प्रहरी जवान विरवल राय यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल भारत सिमानाको काकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको हो।
उनीमाथि आवश्यक कारबाहीका लागि आज प्रहरी परिसर, काठमाडौं पठाइएको छ। उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसारको कसुरको सजाय हुने प्रहरीले जनाएको छ।