काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपालीलाई फर्कादिन त्यहाँका विदेशमन्त्रीसँग आग्रह गरेका छन् । युगान्डाको राजधानी कम्पालामा जारी असंलग्न राष्ट्रहरूको ‘नामशिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
मन्त्री साउदले नेपाली नागरिकहरूलाई त्यहाँको सेनामा भर्ना नलिन पनि आग्रह गरे।
‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यसकारण रुसलाई नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’
परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे।
‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन्। आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो। त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न भनेका छौँ,’ मन्त्री साउदले रुसी उपविदेशमन्त्रीसँग भने, ‘रुसी पक्षले मृतकका परिवारलाई रुसी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको छ। यसका लागि प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेका छौँ।’
जवाफमा रुसी उपविदेशमन्त्री वर्सिनिनले नेपाल र रुस सम्बन्धबारे चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए।
रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो।
रुसी सेनामा करिब २०० नेपाली भर्ना भएका सरकारको आकलन छ । तीमध्ये ११५ जनाका परिवारले घर फर्कादिन विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रुसी सेनामा भर्ना भएका १२ जनाले युक्रेनसँगको युद्धमा ज्यान गुमाइसकेका छन् । चार जना युक्रेनी सेनाको बन्धक बनेको परराष्ट्रको विवरणमा उल्लेख छ ।