काठमाडौँ । माघ १ गते दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरूबिच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एक जनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ ।
टुँडिखेलमा माघे सङ्क्रान्तिका अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सर्वसाधारणको अत्यधिक भिडका कारण चेपिएर १६ जना घाइते हुन पुगेका र उपचारपछि १५ जना घर फर्किएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘सोमबार दिउँसो टुँडिखेलमा ठुलो सङ्ख्यामा थारू र मगर समुदाय भेला भएका थिए । अत्यधिक भिड हुँदा ठेलमठेलमा परेर १६ जना घाइते भएकामा र उचारपछि १५ जना ‘डिस्चार्ज’ भएका छन् । एक जना उदयपुर रौतामाई गाउँपालिका–८ घर भई हाल काठमाडौँ मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगरको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’
भागदौडमा घाइते हुनेमा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी र १६ वर्षीया अनिसा केसी छन् ।
त्यसैगरी, २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मीना थापा, १९ वर्षीया रिजा रेस्मीमगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल र १४ वर्षीया करिश्मा मगर रहेका उहाँले बताउनुभयो । महोत्सवमा पस्ने र निस्कनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएका थिए ।