माले । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशमा तैनाथ भारतीय सेनालाई मार्च १५ सम्म हटाउन आग्रह गरेका छन् ।
माल्दिभ्सस्थित भारतीय दूतावासका अधिकारीलाई राष्ट्रपति मुइज्जुले औपचारिक रूपमा आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न आग्रह गरेका हुन् ।
राष्ट्रपति मोइज्जुका सहयोगी अब्दुल्ला नजिम इब्राहिमले पत्रकारसमक्ष यस्तो जानकारी दिएका छन् ।
जनवरी १४, २०२४ आइतबार राजधानी मालेमा बसेको द्विपक्षीय उच्चस्तरीय बैठकमा माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
चीन भ्रमणबाट फर्किएलगत्तै राष्ट्रपति मुइज्जुले भारतलाई लक्षित गर्दै ठुला देशहरू साना देशमाथि हेप्ने लाइसेन्सप्राप्त नहुने बताएका थिए । दोस्रो दिन नै उनले भारतले सेना फिर्ता लैजानुपर्ने बताउँदै त्यसका लागि भारतीय दूतावासलाई आग्रह गरेका हुन् ।
माल्दिभ्सका टापुमा कम्तीमा ७५ जना भारतीय सैनिक तैनाथ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारले सन् २०२० मा दिएको सैनिक विमान सञ्चालन गर्नका लागि सन् २०२१ देखि भारतीय सेना माल्दिभ्सको टापुमा बस्दै आएका छन् । उनीहरूले विशेषगरी उद्धारको काममा ती विमान प्रयोग गर्ने बताएका छन् ।
माल्दिभ्सले अहिले तिनै सैनिक फिर्ता गर्न आग्रह गरेको हो । राष्ट्रपति चुनावअघि नै माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुनुपर्ने विषय जोडतोडले उठेको थियो । त्यही पक्षको नेतृत्व गरेर मुइज्जु नयाँ राष्ट्रपति बनेका हुन् ।
महिनौँसम्म उनको पार्टीले “इन्डिया आउट” को अभियानसमेत चलाएको थियो । उनले विपक्षी दलका नेताहरूले राष्ट्रिय सार्वभौमसत्तासँग सम्झौता गर्दै भारतीय सेनालाई आफ्ना टापुमा बस्न दिएको आरोप लगाउने गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणपछि मालदिभ्सका तीन जना उपमन्त्रीले मोदीलाई लक्षित गरी प्रतिक्रिया दिएपछि भने माल्दिभ्स र भारतबीचको विवाद सतहमै देखिएको थियो । त्यसपछि भारतमा “बायकट माल्दिभ्स” नारा नै चलेको थियो । कैयौँ भारतीयले मल्दिभ्स भ्रमण रद्द गरेका फोटा सामाजिक सञ्जालमा राखेका थिए ।
मोदी र भारतलक्षित प्रतिक्रिया दिने तीन मन्त्रीलाई बर्खास्त गर्दै माल्दिभ्स सरकारले उनीहरूको अभिव्यक्ति व्यक्तिगत भएको बताएको थियो । राष्ट्रपति मुइज्जुले भारतको विरोध गर्नु आफ्नो सरकारको नीति नभएको भन्दै उनले मन्त्रीलाई निलम्बन गरेका थिए ।
बेइजिङ भ्रमणबाट फर्किएका राष्ट्रपति मुइज्जुले भने भारतमाथिको निर्भरताबाट मुक्त हुने र त्यसका विकल्प खोजिने पनि बताएका छन् । उनले शिक्षा, स्वास्थ्य सेवाका लागि थाइल्यान्ड, युएईलगायतका देशमा जान सकिने बताएका छन् ।
माल्दिभ्सका जनता उपचारका लागि भारतीय र श्रीलङ्काका अस्पतालमा जाने गरेका छन् । राष्ट्रपति मुइज्जुले औषधि भने युरोप र अमेरिकाबाट सिधै आयात गर्न सकिने बताएका छन् ।
यसअघि धेरैजसो खाद्य सामग्री भारतबाटै आउने गरेकोमा मुइज्जुले अब टर्कीबाट पनि आयात गर्न सकिने बताएका थिए । माल्दिभ्स घुम्न जानेमध्ये ११ प्रतिशत पर्यटक भारतबाट जान्छन् । भारतसँगको सम्बन्ध बिग्रिएपछि माल्दिभ्समा पर्यटकको सङ्ख्या घट्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् । (एजेन्सी)





