काठमाडौँ । नेकपा (मसाल) ले क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार ताराकान्त पाण्डेयको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस २८ गते शनिबार जारी वक्तव्यमा पार्टीले भालुबाङ दुर्घटनाका मृतक तथा पाण्डेयको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।
वक्तव्यमा दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि व्यक्त गरिएको छ ।
पाण्डेयसित महामन्त्री सिंहको व्यक्तिगत रूपमा घनिष्ट सम्बन्ध रहेको जानकारी दिइएको सो वक्तव्यमा उहाँको निधनबाट नेपालको वामपन्थी आन्दोलनमा ठुलो क्षति पुगेको विचार व्यक्त गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“हिजो २०८० पुस २७ गते राती दाङको भालुबाङमा भएको बस दुर्घटनाका मृतकप्रति नेकपा (मसाल) श्रद्धाञ्जली व्यक्त गर्दछ । उक्त घटनाका घाइतेप्रति हाम्रो पार्टी शीघ्र स्वास्थ्यलाभको कामना पनि व्यक्त गर्दछ ।
उक्त घटनामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ताराकान्त पाण्डेयको पनि निधन भएको छ ।
ताराकान्त पाण्डेयसित मेरो व्यक्तिगत रूपमा पनि अत्यन्तै घनिष्ट सम्बन्ध रहेको थियो । उहाँको निधनबाट नेपालले उच्च स्तरको वामपन्थी व्यक्तित्व गुमाएको छ । त्यसबाट नेपालको वामपन्थी आन्दोलनमा ठुलो क्षति हुन पुगेको छ ।
हाम्रो पार्टी उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ, साथै उहाँका शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ ।”