अँध्यारो कालो जस्तै चिसो
शीशिररुपी कुरुपसँगै
कोरोनाको कहर
चिर्दै लालिगुराँस र बयरका रूखहरुसँग
अनौठो प्रकारको सामिप्यता जगाउँदै
लामो अनिश्चितता पछि एक दिन
आउनेछ त्यो झलमल्ल घाम पछिको
स्वभाविक साँझ जस्तै
मध्यरातसम्म पुर्याउने गन्तव्य
बोकेर
मिठो निद्रासँगै प्रेमिल सपनाको साछी बनेर
वनपाखामा रमाउने गोठाल्नीहरुको
मुहारमा अनौठो चमत्कार लिएर
तपाई र म जस्ता हजारौं जन मनको आँखामा
हर्षको उन्माद लिएर
घाँस दाउरा काट्दै बिरहको गीत गाउँदै
खोलानाला पाखा पखेरामा
यानीमाया र सालैजो भाकामा गुञ्जयमान बनाउने
गोठालो दाइको आव्हान पुरा गर्दै
आमाले भुटेको मकै र मही खाँदै
पातलभरी प्युसा र भुसुनाको आहार बनेर
मनभरी राऊटे कठुरे र डल्ले गोरु सम्झँदै
बस्तुभाऊ चराऊने त्यो अबोध बालकको अबस्था देखेर
विदेशिएको छोराको पिरमा पिंढीमा बसेर
टप टप आँशु खसाल्ने बुढी आमाको गाथा सुनेर
छिनेको चप्पलको फितामा खरको जिऊरोले बाँधेर
दाऊरा घाँस गर्दै सन्तानको खुसीमा रमाउने
चिरा चिरा परेको बाको खुट्टाको दयनीय अवस्था देखेर
घरमा सँधै आफूले पिट्ने तर स्कुलमा कसैले पिट्यो कि जसले पिट्छ
उसैलाई पिट्ने दाइको सम्झनामा
दाइ आउने आशामा दिन दिनै बाँचिरहेको
हजारौं सपनाको संसारमा हराएको
स्नेही भाइको दाइ खुसी लिएर आउने आशा सम्झिएर
आफू हारेर पनि दाजुभाइको खुसीको निम्ती
सँधै ब्रत बसिरहने दिदीबहिनीको
प्रार्थना सुनेर !
जीवन संगिनीको ब्यग्र प्रतिक्षा देखेर
बा आउने आशामा दिन काटिरहेको सन्तानलाई देखेर सबैको मुहारमा चमक लिएर
दिनभरी काम गरेर साँझ के खाऊ के लाऊ भन्ने
ति निर्धाको बेदनासँगै आँखाबाट आऊने अनगिन्ती थोपा
प्रश्नहरु सम्झिएर
एकछाक खाएर
एकछाक चिसो कुवाको पानीसँगै रमाउने
हजुर आमाको बिलाप सुनेर
गाऊँ नै उज्यालो बनाउने युवाहरुलाई
फेरि पनि एक टुक्रा रोटी र पानी बोकेर
अबेरसम्म हिडेर माथी जंगलमा डेम्मर
र काफल खान बोलाउँदै
सबै जञ्जिरहरुबाट मुक्त भएर
मिर्रमिरे उज्यालोमा भालेको डाँकोसँगैगै
आऊने छ त्यो
सुनौलो विहान पर्ख त्यो विहान
भुलाउने सबै मुत्युरुपी
चिहान ।
(इन्द्रमणी पाण्डे, ढोरपाटन ३ सामा बागलुङ)

