काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले बागलुङ जिल्ला समितिका सचिव विजय रानामाथि प्रहरीले आक्रमण गरेपछि त्यसको भर्त्सना गरेको छ । आक्रमणबाट राना घाइते हुनुभएको छ भने उहाँको मोबाइल खोसिएको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८० पुस २२ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीले सो घटनाको भर्त्सना गरेको हो ।
वक्तव्यमा प्रगतिशीलले सचिव रानामाथि ज्यादती गर्ने प्रहरीमाथि कारबाही र उनको नि:शुल्क उपचार गर्न माग गरेको छ । त्यस्तै, वक्तव्यमा पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै लेखिएको देशमा यस्तो घटना हुनु निन्दनीय बताउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रहसमेत गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“हाम्रो सङ्गठन प्रगतिशील पत्रकार सङ्घ बागलुङ जिल्ला समितिका सचिव विजय रानामाथि प्रहरीले लाठिचार्ज गरी घाइते बनाएको, उहाँको मोबाइसमेत खोसेको जस्तो ज्यादती भएकोमा हाम्रो सङ्गठनले सो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनाका दोषी प्रहरीमाथि कानुनसम्मत कारबाही गर्न माग गर्दछ । त्यसका साथै हाम्रो सङ्गठनले सचिव रानाको नि:शुल्क उपचारको व्यवस्था गर्न पनि माग गर्दछ ।
बागलुङमा उद्योग वाणिज्य सङ्घको आयोजनामा सातौँ बागलुङ महोत्सव चलिरहेको छ । उक्त महोत्सवमा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले उद्योग वाणिज्य सङ्घसित सहकार्य गरेको थियो । सो सहकार्यअन्तर्गत पत्रकार महासङ्घ बागलुङले टिकट व्यवस्थापनको जिम्मा लिएको थियो । विजय राना नेपाल पत्रकार महासङ्घ बागलुङको सचिवसमेत हुनुहुन्छ । सोहीअनुसार महोत्सवको दसौँ दिन २०८० पुस २१ गते शनिबार राति करिब १० बजेतिर आयोजकलाई हिसाबकिताब बुझाउन जाने क्रममा महोत्सव सञ्चालन भएको स्थान धौलागिरी बहुमुखी क्याम्पसको मूल गेटअगाडि सचिव रानामाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको छ । प्रहरीले त्यहाँ केही नागरिकमाथि हातपात गरिरहेको देखेपछि पत्रकारको हैसियतले फोटो र भिडियो खिच्ने क्रममा रानामाथि प्रहरीले ज्यादती गर्दै उहाँलाई घाइते बनाएको छ भने उहाँले प्रयोग गरेको मोबाइलसमेत खोसेको छ ।
संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको हाम्रो जस्तो देशमा समाचार सङ्कलन गर्ने क्रममा भएको यस खालको व्यवहार निन्दनीय छ । आगामी दिनमा प्रेसजगत्माथि यस खालको घटना दोहोरिन नदिन बागलुङको सम्बन्धित प्रशासनसित प्रगतिशील पत्रकार सङ्घ आग्रह गर्दछ ।”
पत्रकार महासङ्घ बागलुङको पनि विरोध
यता, नेपाल पत्रकार महासङ्घ बागलुङले पनि प्रेसवक्तव्य जारी गर्दै सचिव रानामाथि प्रहरी आक्रमणको विरोध गरेको छ ।
जिल्ला समितिका सहसचिव तारानाथ आचार्यको हस्ताक्षरमा प्रेसवक्तव्य जारी गर्दै महासङ्घले विरोध व्यक्त गरेको हो ।
