टोकियो । मध्यजापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित इसिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको हो ।
क्षतिको थप विवरण र फसेका व्यक्तिको बारेमा जानकारी आउने क्रम जारी रहेको बताइएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किसिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दु:ख विरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताउनुभएको छ ।
जनवरी १, २०२४ का दिन इसिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ ।
सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ भूकम्प गएको छ । (रासस–सिन्ह्वा)





