ढाका । बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई जनवरी १, २०२४ सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै छ महिनाको जेलसजाय तोकिएको छ ।
राजधानी ढाकास्थित श्रम अदालतले सोमबार दिउँसो सो फैसला सुनाएको हो ।
अर्थशास्त्री युनुस र ग्रामीण टेलिकमका तीन सहकर्मीमाथि कम्पनीमा श्रमिक कल्याण कोष स्थापना गर्न असफल भएपछि श्रम कानुन उल्लङ्घन गरेको आरोप उनीमाथि लगाइएको छ तर । चारै जनाले आरोप अस्वीकार गरेका छन् ।
‘प्रोफेसर मोहम्मद युनुस र अन्यले श्रम कानुनको अनिवार्य आवश्यकता उल्लङ्घन गरेको पुष्टि भएको छ’ मुख्य अभियोजक खुर्सिद आलम खानले भनेका छन् ।
युनुसमाथि श्रम कानुन उल्लङ्घन र भ्रष्टाचारको आरोपका १०० भन्दा बढी अन्य अभियोग लगाइएको छ ।
युनुसले गत महिना भएको सुनुवाइपछि पत्रकारसँग कुरा गर्दै आफूले बङ्गलादेशमा स्थापना गरेका ५० भन्दा बढी सामाजिक व्यवसाय फर्ममध्ये कुनै पनि कम्पनीबाट कुनै लाभ नलिएको दाबी गरेका छन् ।
युनुसले भने– ‘ती मेरो व्यक्तिगत फाइदाका लागि थिएनन् ।’
‘यो मुद्दा योग्यताहीन, झुटो र गलत मनसायबाट प्रेरित थियो’ उनका एक वकिल ख्वाजा तनविरले भने– ‘यो मुद्दाको एक मात्र उद्देश्य उहाँलाई विश्वसामु उत्पीडन र अपमानित गर्नु हो ।’
उहाँका समर्थकहरूले ८३ वर्षीय युनुसलाई राजनीतिबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् । (रासस/एएफपी)





