किएभ । युक्रेनले रुसको सीमावर्ती सहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० ओटा अपार्टमेन्टमा क्षति पुगेको छ ।
बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले आइतबार दिएको जानकारीमा रुसले शुक्रबारदेखि निरन्तर रुसका अन्य सहरहमा जस्तै बेल्गोरोडमा पनि आक्रमण गरिरहेको बताउनुभयो ।
‘मृतकको सङ्ख्या २१ पुगेको छ, जसमध्ये तीन जना बालबालिका रहेका छन् । घटनामा १७ बालबालिकासहित ११० जना घाइते भएका छन् । अहिलेसम्म ३० ओटा अपार्टमेन्ट भवन, ३४४ ओटा अपार्टमेन्ट, तीन निजी घर, कैयौँ व्यवसाय र सामाजिक सुविधामा क्षति भएको छ’ ग्ल्याडकोभले सामाजिक सञ्जालमा लख्नुभएको छ ।
यसैबिच, रुसी रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड र सो क्षेत्रमा युक्रेनको सशस्त्र बलले शुक्रबार र शनिबार गोलाबारी गरेको थियो । रुसले युद्धसामग्रीको साथ दुई रकेट र एक बहुप्रक्षेपण रकेट प्रणालीबाट सहरको केन्द्रमा आक्रमण गरिएको छ ।
मन्त्रालयले शनिबार हवाई प्रतिरक्षा प्रणालीले रकेट र अधिकांश गोलालाई रोकेको र शुक्रबार राति बेल्गोरोड क्षेत्रको भूभागमा १३ ओटा रकेट नष्ट गरेको जनाएको छ ।
त्यस्तै, युक्रेनको सुरक्षा सेवाको अज्ञात स्रोतलाई उद्धृत गर्दै युक्रेनी स्थानीय सञ्चारमाध्यमले युक्रेनी सेनाले बेल्गोरोड क्षेत्रमा रहेको रुसी सैन्य शिविरमा आक्रमण गरेको जनाएको छ ।
युक्रेनका सहरमा रुसी क्षेप्यास्त्र आक्रमण र सर्वसाधारणको हत्याको परिणामस्वरूप युक्रेनको रक्षाबलको संयुक्त गतिविधि जारी रहेको स्रोतले जनाएको छ ।
शुक्रबार रुसले युक्रेनमा हवाई आक्रमण गर्दा ३० जनाको मृत्यु हुनुका साथै १६० जना घाइते भएको युक्रेनी अधिकारीले बताएका छन् । (रासस/सिन्ह्वा)