काठमाडौँ । विसं २०५८ मा निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा सङ्घीय संसद् सचिवालयले २०८० मङ्सिर २७ गते सङ्घीय संसद् सेवा दिवस मनाइएको छ ।
सिंहदरबारस्थित सचिवालयका विशेष समारोहका आयोजना गरी दिवस मनाइएको हो ।
नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो ।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसद र कर्मचारीको सहभागिता रहेको थियोे ।
सो अवसरमा सभामुख घिमिरेले संसद्को प्रभावकारिता बढाउन विगतको समीक्षासहित स्थायी कर्मचारीको गरिमामय भूमिका स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सरकारले संसदलाई सीमा तोकेर नभई मागका आधारमा बजेट निर्धारण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्याल, मुख्य सचिव डा. बैकुण्ठप्रसाद अर्याल, सचिवालयका आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्वासे जैसीलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा दीर्घ सेवा पदक र खेलकुद प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियोे । सो अवसरमा सचिवालयका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डयले उत्कृष्ट हुने कर्मचारीको नाम घोषणा गर्नुभएको थियो ।