पोखरा । पर्यटकीय नगरी पोखरामा पोखरा–माउन्टेन क्रस कन्ट्री प्रतियोगितामा नेपाल प्रथम भएको छ। शनिबार पोखरामा सम्पन्न नेपाली र चिनियाँ खेलाडी सहभागी प्रतियोगितामा टिम इभेन्ट र व्यक्तिगत इभेन्ट दुवैमा नेपाली धावकहरु विजयी भएका हुन्।
४० किलोमिटरको मुख्य प्रतियोगितामा सुमन कुलुङ, रमेश लिम्बु र इन्द्रकला नेम्वाङको जोडीले प्रथम स्थान हासिल गरेको छ। जीतसँगै उनीहरूले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गरेका छन्।
वसन्त थारु, मुकेश थारु र श्रीबी महर्जनको जोडीले दोस्रो स्थान हासिल गर्दै दुई लाख ८८ हजार रुपैयाँ र श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगरको जोडी तेस्रो हुँदै दुई लाख १६ हजार रुपैयाँ प्राप्त गरेका छन् भने लिन काइची, याङ हुङझाङ र झोउ किङको जोडी चौथो हुँदै एक लाख ४४ हजार रुपैयाँ प्राप्त गरेका छन्।
३८ किलोमिट एकल महिलातर्फ मन्जु रावतले प्रथम, पदमकुमारी सुनुवार दोस्रो चीनकी झाङ जुन्युएले तेस्रो स्थान हासिल गरेकी छन्। यस्तै पुरुषतर्फ होमलाल श्रेष्ठ प्रथम,वेदबहादुर सुनार दोस्रो र तीर्थबहादुर तामाङले तेस्रो स्थान हासिल गरे। एकलतर्फको प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश: एक लाख ४४ हजार, एक लाख आठ हजार र ५४ हजार रुपैयाँ प्राप्त गरेका छन्।
यस्तै पाँच किलोमिटर विद्यार्थी सडक दौडको छात्रतर्फ कुमुदिनी होम्सका कृष्ण परियार प्रथम, छोरेपाटन माविका तेन्जोन मगर दोस्रो र कास्की मोडनाइजका बादल कार्की तेस्रो भए।
छात्रातर्फ छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी दोस्रो र ताल बाराही माविकी गीता श्रेष्ठले तेस्रो स्थान हासिल गरिन्। छात्र/छात्रा दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश: २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडको बाराहीघाटबाट सुरु भएको दौडअन्तर्गत खेलाडीहरुले साइक्लिङपछि बोटिङ पनि गरेका थिए। प्रतियोगितामा सहभागी हुन १ सयभन्दा बढी चिनियाँ खेलाडीहरु विमान चार्टर्ड गरेर बिहीबार पोखरा आएका थिए।
सन् २०१९ मा पोखरामा पहिलो पटक आयोजना भएको दौड कोभिड–१९ को समयमा रोकिएको थियो। कार्यक्रम पुन: सुचारु भएसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने र पोखराको पर्यटनलाई विश्वभर साहसिक गन्तव्यका रूपमा विकास गर्ने बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले बताए।
प्रतियोगिता नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनियाँ दूतावासको आयोजनामा सञ्चालन गरेका छन्। होटल संघ पोखरा र युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजन गरेका थिए।