काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ ।
स्थानीय बयोधा अस्पतालमा उपचारको क्रममा २०८० कात्तिक २८ गते मङ्गलबार उहाँको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले जानकारी दिनुभयो ।
स्मृतिशेष मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान–२०७०, जगदम्बाश्री सम्मान–२०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।
साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवम् प्रकाशन गर्नुभएको थियो ।
त्यसैगरी उहाँले लुसुनका रचनाको नेपालीमा अनुवाद गर्नुभएको थियो ।
छ दसकभन्दा लामो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँले राणा शासनदेखि नै बालखुराक पस्कदै आउनुभएको थिो ।
स्मृतिशेष मानन्धरको अन्त्येष्टि भोलि कात्तिक २९ गते बुधबार गरिने छ । अन्त्यष्टिपूर्व उहाँको शव श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने छ ।