भरतपुर । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ ।
हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्ने जस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ ।
उहाँले भन्नुभयो– ‘हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईओटा टोली परिचालन गरिएको छ ।’
हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषध प्रयोग गरी डाट गर्ने उहाँले बताउनुभयो । यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ ।
योसँगै स्याटेलाइट कलर जडान गरिने उहाँले जानकारी दिनुभयो । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिने उहाँले बताउनुभयो । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।
निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझबिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।
उहाँले भन्नुभयो– ‘हात्ती बाहिर निस्किएको हुँदा मानवीय क्षति हुन सक्ने भएकाले साँझ र बिहानपख अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गर्दछौँ ।’ निस्कनै परे टर्चलाइट बालेर र समूहमा निस्कन कार्यालयले अपिल गरेको छ ।
धु्रवे हात्ती हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दु:ख दिँदै आएको छ । यसले हालसम्म २२ भन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ । (रासस)