काठमाडौँ । अखिल (छैठौं) ले जाजरकोट भूकम्पका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष देवेन्द्र कुँवरले २०८० कात्तिक १८ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै सो सङ्गठनले परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको हो ।
वक्तव्यमा उद्धार तथा राहत कार्य एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“कार्तिक १७ गते राती जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका १४० जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । सयौँको सङ्ख्यामा घाइते भएका छन् भने हजारौँ घर क्षतिग्रस्त भएका छन् ।
हामीले उक्त भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ र उहाँहरूको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । भूकम्पमा परी घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
उनीहरूको उपचारमा कुनै कमी हुन नदिनुका साथै उद्धार तथा राहतको कार्यलाई एकद्वार प्रणालीबाट व्यवस्थित, विधिसम्मत र न्यायोचित गर्न सरकारसँग अनुरोध गर्दछौँ ।
दु:खको यो घडीमा उक्त क्षेत्रका जनतालाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न सम्पूर्ण नेपाली जनतालाई अनुरोध गर्दै अखिल (छैठौं) ले पनि आफूसक्दो सरकारलाई सहयोग गर्न तयार रहेको कुरा जानकारी गराउँछौँ ।”