काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परि निधन भएका चार विद्यार्थीको शव धनगढी लगिएको छ । आइतबार चार विद्यार्थीको शव नेपाली सेनाको स्काइ ट्रकबाट कैलालीको धनगढी विमानस्थल लगिएको जंगी अड्डाले जनाएको छ ।
धनगढी लगिएका ती शव स्थानीय प्रशासनले मृतकको घर पुर्याइ दिनेछ।
इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव आइतबार नेपाल ल्याइएको हो। फ्लाई दुबईको विमानमार्फत शव नेपाल ल्याइएको थियो।
दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए। उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन्। सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन्।
आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ।
केही दिनअघि इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याइएको थियो।
