काठमाडौँ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सोमबार र मङ्गबार वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ ।
२०८० असोज २९ गते सोमबार जल तथा मौसम पूर्वानुमान महाशाखाले सो अनुमान सार्वजनिक गरेको हो ।
यस वर्षको मनसुन असोज २८ गते नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्षको मनसुन जेठ ३१ (जुन १४) मा भित्रिएको थियो ।
यस वर्षको मनसुन एक सय २४ दिन जति नेपालमा रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । यो प्रणाली क्रमश: पूर्वतिर सर्दै जाँदा कमजोर बन्दै जाने उहाँको भनाइ थियो ।
पश्चिमी भूभागमा गत राति पनि वर्षा भएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लामा असिनासमेत पर्दा बालीनालीमा क्षति पुर्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यय वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।
काठमाडौँको वायुको तापक्रम १९ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता ६ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्डिग्रेडको बिचमा रहने सम्भावना रहेको र दिउँसोतिर काठमाडौँमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।’
आइतबार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।