बेइजिङ । चीनको राजधानी बेइजिङस्थित इजराइली दूतावासका एक कर्मचारीमाथि शुक्रबार आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ ।
“आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ’ दूतावासको परिसरमा आक्रमण नभएको उल्लेख गर्दै विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ– “ती कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ । आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।”
गत शनिबार आश्चर्यजनक हमलामा हमासका बन्दुकधारीले इजराइलमा एक हजार दुई सयभन्दा बढीको हत्या र करिब एक सय ५० जनालाई बन्धक बनाएपछि दूतावासका कर्मचारीमाथि आक्रमणको घटना भएको छ ।
इजराइलले बदलास्वरूप गाजापट्टीमा हमासका लक्ष्यमा हवाई आक्रमणसँगै तोप बर्साएर एक हजार तीन सय ५० भन्दा बढीलाई मारेको छ ।
हमासले इजराइली र यहुदीमाथि हमला गर्नका लागि विश्वभरका आफ्ना समर्थकसँग शुक्रबार ‘क्रोध दिवस’ मनाउन आह्वान गरेको इजराइली विदेश मन्त्रालयले वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा चेतावनी दिएको छ ।
“विभिन्न देशमा विरोधका घटनाहरू हिंसात्मक बन्न सक्छन् भन्ने अनुमान गर्नु उचित छ” विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार अपराह्न उत्तरपूर्वी बेइजिङको एक कूटनीतिक छिमेकमा रहेको इजराइली दूतावास सामान्य रूपमा सञ्चालन भएको देखिएको एएफपीका एक पत्रकारले बताए ।
सुरक्षाकर्मीले उक्त क्षेत्रको फोटो नखिच्न एएफपीलाई आग्रह गरेका थिए । बाहिरबाट त्यहाँ कुने निगरानी भइरहेको देखिएको थिएन । उक्त घटनाबारे चीनको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । (रासस/एएफपी)