परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २०८० असोज १० गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षण दिँदै प्रमुख अतिथि रेग्मीले किसानहरूको मुक्ति नयाँ जनवादी व्यवस्थाबाट मात्र सम्भव हुने बताउनुभयो ।
‘अहिलेको अवस्थामा सामान्य सुधारात्मक माग पूरा गराउन किसान आन्दोलनको विकल्प छैन’ उहाँले भन्नुभयो– ‘त्यसैले किसान महासङ्घसँग सम्बन्धित साथीहरूले किसानका तात्कालिक समस्याको उठान गरेर सङ्घर्ष गर्दै नयाँ जनवादी क्रान्तिको आधार तयार पार्दै अगाडि बढ्नुपर्छ ।’
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, अप्फा लुम्बिनी प्रदेश सचिव तथा केन्द्रीय सदस्य रुकबहादुर पराजुली, अखिल नेपाल जनजाति सम्मेलन प्रदेश सदस्य तिलबहादुर सूर्यवंशी र राजमो नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारीले सफलताको शुभकामना दिनुभएको थियो ।
प्रमुख अतिथि रेग्मीले ब्यानर पढेर उदघाटन गर्नुभएको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई कृष्णबहादुर थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रम सुकुम्बासी सङ्घका केन्द्रीय सचिव उत्तम खरेलको अध्यक्षता तथा चूडामणि चालिसे शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

सुकुम्बासी सङ्घको समिति
प्रशिक्षण भेलापछि उत्तम खरेलको संयोजक रहनुभएको सात सदस्यीय अखिल नेपाल सुकुम्बासी सङ्घको जिल्ला सङ्गठन समिति गठन गरेको छ ।
समितिमा चूडामणि चालिसे शर्मा, नरेन्द्र विक, यमबहादुर थापा, मेघराज गौतम र सीता जैसी सदस्य रहनुभएको छ । समितिको एक स्थान हाललाई रिक्त राखिएको छ ।