काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा आज तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन गरेका छन् ।
काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको बिरोध गरेका हुन् । गत बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरुले बताएका छन् ।
शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुले विभिन्न १८ बुँदे असहमति प्रकट गरेका छन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण नि:शुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।