काठमाडौं । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ। धरान उपमहानगरपालिका– १५ स्थित खिरिया बस्तीमा पुगेर एउटा समूहले बेघाको घरमा तोडफोड गरेको हो।
उपप्रमुख बेघाका भाइ विष्णुलाई कुटपिट गर्न पुगेको उक्त समूहले घर तोडफोड गरेको हो।
आक्रमणमा परी उपमेयर बेघाका कान्छा भाई विष्णु बेघा र विपक्षी समूहका युवा सन्देश राई घाइते भएका छन् । दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीयले जनाएका छन् ।
दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन्।
८ जना पक्राउ
बेघाको घरमा तोडफोड र आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। घाइते दुईसहित घटनामा संलग्न ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
विवादको कारण प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ। दुई टोलका युवाहरुबीच पुरानो रिसइबीले मंगलबारको घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
उपमेयर बेघाले आफ्नो घरमा आक्रमण हुँदा प्रहरीलाई समयमै खबर गर्दा पनि नआएको गुनासो गरेका छन्। उनले धरानका डिएसपीलाई फोन गरेको फेसबुक लाइभ गरेपछि घटनाप्रति सार्वजनिक चासो बढेको थियो।
दुवै पक्षका घाइतेलाई उपचार गराउन पुगेका युवाहरुबीच मंलबार साँझ बीपी प्रतिष्ठानको इर्मजेन्सी वार्डमै कुटाकुट भएको थियो।
सुनसरीका प्रहरीले घर तोडफोड गर्नेहरुको खोजी थालिएको जनाएको छ। बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन थाल्ने सुनसरीका प्रहरी प्रमुख विपिन गौतमले बताएका छन्।
धरानमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएका छन्।