काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले १२ बुँदे सम्झौता बिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी १२ बुँदे नेपालको सम्झौता बिनै कार्यान्वयनमा लगिएको धारणा राखेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी परियोजनाको निरीक्षणका लागि पार्टीले ५ सदस्यीय एमसीसी अनुगमन समिति बनाउने र त्यसको संयोजकमा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे रहेको बताए । उनले सदस्यमा उपमहासचिव डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, पार्टी सचिव गरिमा शाह, विषय विज्ञ एकजना राख्ने निर्णय भएको पनि जानकारी दिए ।
उनले भने, ‘नेपालमा अहिले एमसीसी कार्यान्वयनको चरणमा छ । एमसीसीको बारेमा पार्टीले स्पष्ट धारणा विगतमा राखेको थियो । व्याख्यात्मक घोषणाका १२ बुँदाहरु अंग बनाएर मात्रै एमसीसी पारित गर्नुपर्छ भन्ने हाम्रो माग थियो । देशको साझा मागलाई एकातिर पन्छाउँदै एमसीसी कार्यान्वयन हुन लागिरहेको आजको घटनाक्रम देखिरहेका छौँ । हाम्रो पार्टी आजपनि व्याख्यात्मक घोषणालाई अंग बनाउन र अंग बनायो की बनाएर भनेर र कसरी भोलि समस्या पैदा हुन्छन् भनेर त्यसको रेखदेख गर्नका लागि हाम्रो पार्टीले एउटा एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको छ ।’
उनले पार्टी आजपनि व्याख्यात्मक घोषणालाई अंग बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।