काठमाडौं । सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणाली शुभारम्भ भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमवार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गरे।
त्यसक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताए । उनले अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए। उनले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने बताए। स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरुलाई निश्चिन्तता हुने पनि उनले बताए। उनले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने बताए।
उनले भने, ‘यसले कर्मचारीहरुलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ। पेशी व्यवस्थापन कडी हो यो। तारेखसम्म सुधार गर्यौँ हामीले। अब सायद हाम्रो कर्मचारी साथीहरुले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभुति मलाई भएको छ।’
उनले स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको बताए। भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको उनले जानकारी दिए। यो प्रणालीलाई आगामी दिनमा काठमाडौं जिल्ला अदालत हुँदै अन्य अदालतहरुमा पनि लागू गरिने उनले बताए।