काठमाडौं । आज (मंगलबार) देखि संसदको अवरोध हट्नेभएको छ । प्रमुख राजनीतिक दलहरुको बैठकले ६० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेसँगै संसदको अवरोध हटेको हो ।
सोमबार मध्यरातसम्म बसेको बैठकले हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सैद्धान्तिक समझदारी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सोमबार राति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताको बैठकले सो सहमति गरेको हो।
बैठकमा सुन तस्करी प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धान सकेर प्रतिवेदन बनाउन सहयोग गर्ने र सीआईबीको प्रतिवेदन बुझेपछि मात्र उच्चस्तरीय छानबिन समिति गठन गरेर थप अनुसन्धान गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।
उच्चस्तरीय समितिको टीओआर बनाउन सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ। कार्यदलले आयोगको मस्यौदा मंगलबार तयार पारेर शीर्ष नेतालाई बुझाउने छ।