• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कथित ‘राष्ट्रिय जागरण अभियान’ को उद्देश्य पार्टीमा फुट पारेर दुस्मन शक्तिको सेवा


  •   शनिबार, फागुन २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले हालै पार्टीबाट निष्काशनमा परेका केही व्यक्तिहरुले गठन गरेको ‘राष्ट्रिय जागरण अभियान’ नामक संस्थाको उद्देश्य पार्टीमा फुट पार्ने र मसाललाई कमजोर बनाएर दुस्मन शक्तिको सेवा गर्नु रहेको स्पष्ट पारेको छ । पार्टीको आठौं महाधिवेशन पछि देशव्यापी रुपमा आन्दोलन र संघर्षका कार्यक्रम तथा संगठन सुदृढिकरण अभियान सञ्चालन भइरहेको बेला पार्टी सदस्यहरुलाई भ्रम पार्ने फुटाउने उद्देश्यसहित केही व्यक्तिहरु लागिपरेको मसालले जनाएको छ ।

    Advertisement

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले शनिबार थप स्पष्टीकरण जारी गर्दै कैयौँ प्रकारका कार्यक्रमहरू सफल पार्नका लागि पार्टी योजनावद्ध र संगठित प्रकारले लागिरहेको बेलामा केही अनुशासनविहीन र अराजकवादी तत्वहरूले पार्टीमाथि प्रत्यक्ष र अप्रत्यक्ष प्रकारले हमला गर्ने, पार्टीलाई कमजोर पार्ने वा पार्टीमा फुट पार्ने प्रयत्न गरिरहेको बताउनुभएको छ ।
    प्रवक्ता पुरीले पार्टीका सबै सचेत इमान्दार र अनुशाासित पार्टी सदस्यले उनीहरूको त्यस प्रकारको प्रयत्नलाई असफल पार्ने विश्वास पुनः दोहोर्याउनु भएको छ ।

    प्रवक्ता पुरीद्वारा प्रस्तुत स्पष्टीकरण यस्तो छः
    १. गत जेठमा सम्पन्न आठौँ महाधिवेशनपछि नेकपा (मसाल) कैयौँ सघन संगठनात्मक, प्रशिक्षण वा आन्दोलनका कार्यक्रमहरूमा लागेको कुरा आम रूपमा नै थाहा छ । करिब ९ महिनाको छोटो अवधिमा पार्टीले व्यापक प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गरेको छ र कैयौँ सैद्धान्तिक रचनाहरू प्रकाशन गरेको छ । वैधानिक मोर्चा वा जनवर्गीय संगठनहरूद्वारा गणतन्त्र, राष्ट्रियता, धर्मनिरेपक्षताको रक्षा, भ्रष्टाचार र राष्ट्रघाती नागरिकतासम्बन्धीको विरोध, मजदुर, किसान, जनजाति, महिला आदिका समस्याहरू, भारतीय साम्राज्यवादद्वारा कालापानी समेतका नेपालका भूभागहरूलाई भारतमा देखाएर प्रकाशित नक्शा, एमसीसी आदिसमेतबारे देशव्यापी रूपमा नै कैयौँ आन्दोलनहरू सञ्चालन भएका छन् ।

    अन्य वामपन्थी पक्षहरू समेतसित मिलेर भारतीय नक्शा र एमसीसी समेतबारे सिलसिलेवार प्रकारले नै संयुक्त आन्दोलनको सञ्चालन भएको छ । विद्यार्थी मोर्चाद्वारा चैत्र १ देखि ५ गतेसम्म संघीयताको विरूद्ध काठमाडौ केन्द्रित आन्दोलनको देशव्यापी रूपमा नै तयारी गरिएको थियो । तर कोरना भाइरसका कारणले त्यसलाई स्थगित गरिएको छ । तर उपयुक्त समयमा त्यसलाई पुनः सञ्चालन गरिने छ । फागुन महिनामा वैधानिक मोर्चाको संगठनात्मक विस्तारको लागि देशव्यापी रूपमा अभियान चलेको छ र चैत्रमा किसान मोर्चाको संगठनात्मक विस्तारका लागि अभियान चल्ने छ । यसरी हाम्रो पार्टी कैयौँ प्रकारका कार्यक्रमहरू सफल पार्नका लागि योजनावद्ध र संगठित प्रकारले लागिरहेको बेलामा केही अनुशासनविहीन र अराजकवादी तत्वहरूले पार्टीमाथि प्रत्यक्ष र अप्रत्यक्ष प्रकारले हमला गर्ने, पार्टीलाई कमजोर पार्ने वा पार्टीमा फुट पार्ने प्रयत्न गरिरहेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसप्रकारका गतिविधिहरूले खालि दुश्मन शक्तिहरूको नै सेवा गर्ने छन् । उनीहरूको त्यसप्रकारको अनुशासनविहीन, अराजकतावादी र फुटपरस्त गतिविधि कथित राष्ट्रिय जागरण अभियानको रूपमा अगाडि आएको छ । संगठनात्मक दृष्टिकोणले त्यसले कुनै खास महत्व राख्दैन । तर त्यसद्वारा सम्भावित भ्रममाथि ध्यान दिंदै त्यससित सम्बन्धित विषयमा केही प्रकाश हाल्नु आवश्यक हुन गएको छ ।

    २. उक्त राष्ट्रिय जागरण अभियान गम्भीर प्रकारका अनुशासनविहीन गल्तीहरूका लागि अनिश्चितकालका लागि पार्टीबाट निष्काशित केही अनुशासनविहीन तत्वहरूको पार्टीलाई फुटाउने प्रयत्नको एउटा रूप हो भन्ने कुरा त्यस सन्दर्भमा पार्टीका तर्फबाट जारी गरिएको स्पष्टीकरणमा स्पष्ट गरिएको छ । हाम्रो त्यसप्रकारको स्पष्टीकरणप्रति विरोध जनाउँदै सन्तबहादुर नेपालीले जारी गरेको वक्तव्यप्रति हाम्रो ध्यान गएको छ । उक्त राष्ट्रिय जागरण आभियानको प्रकृतिमाथि प्रकाश हाल्दै त्यो वक्तव्यमा भनिएको छ:  ‘सांस्कृतिक कार्यक्रमका लागि कैयौँ क्लबहरू गठन हुने गर्छन् । हामीले गठन गरेको अभियान पनि एउटा क्लब जस्तै हो ।’ त्यसरी उहाँले यो बताउने प्रयत्न गर्नुभएको छ कि त्यो संस्था एउटा क्लब मात्र हो र त्यसको प्रकृति न राजनीतिक प्रकारको छ, न पार्टीलाई फुटाउने नै त्यसको उद्देश्य रहेको छ । तर त्यो वक्तव्यमा प्रकट गरिएका विचारहरूले नै उहाँको त्यो दावीलाई खण्डन गर्दछन् ।

    ३. त्यो वक्तव्यमा लेखिएको छः ‘अहिले देशमा देखिएको भ्रष्टाचार, कमिशनखोरी, सीमा अतिक्रमण, मानव अधिकारको हनन्, वैदेशिक हस्तक्षेप, महङ्गी, कालोबजारी, कर छली लगायत समाजमा भइरहेको जातीय, वर्गीय, लैंगिक उत्पीडनका विरूद्ध सांस्कृतिक जागरण ल्याउनका लागि यसप्रकारको अभियान आवश्यक हुन गएको हो ।……..राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा निरन्तर आवाज उठाउने, दलित, जनजाति, महिला लगायत उत्पीडित वर्गका बीचमा सचेतनामूलक अभियान संचालन गर्ने, समाजमा व्याप्त रहेको आर्थिक शोषण तथा सामाजिक उत्पीडनका विरूद्ध जनता बीच भण्डाफोर गर्दै जनतासित सुमधुर सम्बन्ध स्थापित गर्ने यस अभियानको उद्देश्य रहेको छ ।……नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा लगायत नौ दलले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको लागि संचालन गरेको संघर्षलाई सशक्त र दबावमूलक बनाउनका लागि हरसम्भव प्रयत्न गर्ने अभियानको कार्यक्रम रहेको छ ।’ उक्त उद्देश्य वा भनाइबाट उनीहरूले गठन गरेको राष्ट्रिय जागरण अभियान “एउटा क्लब जस्तै हो’ र ‘त्यसको चरित्र राजनीतिक नभएको’ भन्ने दावी स्वतः गलत र झूट्टो सावित हुन्छ । कुनै संस्थाले त्यसप्रकारका उद्देश्यहरू पूरा गर्न काम गरेको भए त्यसप्रति हाम्रो कुनै आपत्ति हुने थिएन । तर उनीहरूले जुन प्रकारले आफ्ना विचारहरू प्रकट गरिरहेका छन् वा आफ्ना गतिविधिहरूको सञ्चालन गरिरहेका छन्, त्यसमाथि विचार गर्दा उनीहरूको मुख्य उद्देश्य नेकपा (मसाल)बारे भ्रम पैदा गर्नु वा पार्टीमा फुट पार्नु नै हो भन्ने कुरामा कुनै शङ्का रहन्न ।

    ४. पहिले पार्टीबाट फुटेर जाने बिभिन्न तत्वहरूले एक वा अर्को प्रकारको कुनै संस्था बनाएर आफ्नो पृथक अस्तित्व भएको भ्रम दिने प्रयत्न गर्दथे । तर अब ती संस्थाहरू मध्ये कसैको पनि अस्तित्व बचेको छैन । उनीहरूको या त एक वा अर्को राजनीतिक संगठनमा विलय भयो वा उनीहरू दृश्यबाट हराउँदै गए । यहाँ यो पनि उल्लेखनीय छ कि त्यसरी हाम्रो पार्टीबाट अलप भएर जाने सबै तत्वहरूले हाम्रो पार्टीलाई दक्षिणपन्थी बताएर आफूलाई क्रान्तिकारी बताएका थिए । तर विना अपवाद ती सबैले दक्षिणपन्थी बाटो समात्दै गए । अहिले हाम्रो पार्टीबाट निष्काशित व्यक्तिहरूको भविष्य कुन प्रकारको हुनेछ ? त्यो कुरा आउने दिनहरूमा नै स्पष्ट हुँदै जानेछ । भविष्यको कुरा भविष्यमा नै थाहा हुनेछ र अहिले उनीहरूको सम्पूर्ण गतिविधि पार्टीका विरूद्ध बिभिन्न प्रकारका भ्रमहरू फैलाउने र त्यसरी पार्टीको स्थितिलाई कमजोर पार्नेतिर केन्द्रित छ । गतकालमा धेरै मानिसहरूले हाम्रो पार्टीका विरूद्ध त्यसप्रकारका प्रयत्नहरू गर्दैै आएका छन् । तर त्यसरी हाम्रो पार्टीको अस्तित्वलाई त उनीहरूले समाप्त गर्न सकेनन्, तर या त उनीहरू दक्षिणपन्थी क्याम्पहरूमा मिल्दै गए वा स्वयम् उनीहरूको नै अस्तित्व समाप्त हुँदै गयो । केही समयका लागि ठूला ठूला क्रान्तिकारी कुरा गर्न वा हल्ला गर्न सकिन्छ । तर निर्णयात्मक प्रश्न यो होः त्यस्ता कुराहरू कति समयसम्म र कसरी टिक्दछन् ?

    ५. जब जब कसैले हाम्रो पार्टीको विरोध गर्न थाल्दछ, या हाम्रा विरूद्ध एक वा अर्को प्रकारले अभियान चलाउन थाल्दछ, बिभिन्न प्रतिक्रियावादी, दक्षिणपन्थी, संशोधनवादी वा पार्टीविरोधी तत्वहरूले उनीहरूलाई धेरै समर्थन गर्छन् वा उचाल्छन् । त्यस्तो हाम्रो पार्टीमा मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि सँधै हुँदै आएको छ । रूस र चीनमा पार्टीबाट निष्काशित, पार्टी छाडेर जाने तत्वहरू वा पार्टीका विरूद्ध अभियान चलाउने तत्वहरूलाई साम्राज्यवादी वा पार्टी विरोधी तत्वहरूले सँधै व्यापक समर्थन वा प्रशंसा गर्ने गरेका छन् । हाम्रो पार्टीमा पनि सँधै त्यस्तै हुँदै आएको छ । अहिले पनि हाम्रो पार्टीको विरोध गर्ने वा हाम्रा विरूद्ध अभियान चलाउनेहरूलाई प्रतिक्रियावादी, दक्षिणपन्थी संशोधनवादी वा पार्टीविरोधी तत्वहरूले व्यापक समर्थन गर्ने गरेका छन् । सन्तबहादुरको वक्तव्यमा उनीहरूले गठन गरेको अभियानलाई धेरै मानिसहरूले धेरै मानिसहरूले वधाइ दिएको भनेर लेखेका छन् । देशमा हाम्रो पार्टीको नीति वा कामहरूको विरोध गर्ने वा हाम्रो पार्टीको संगठन प्रणाली र अनुशासनलाई स्वीकार गर्न नसक्ने धेरै मानिसहरू छन् । उनीहरूको फुटपरस्त गतिविधि जति बढ्दै जान्छ वा उनीहरूले हाम्रा विरूद्धको अभियानलाई जति बढाउँदै जानेछन्, त्यस्ता तत्वहरूबाट अरू बढी समर्थन प्राप्त हुँदै जानेछ । तर उनीहरूलाई प्राप्त हुने त्यसप्रकारको समर्थन वास्तवमा उनीहरूको समर्थन नभएर, हाम्रा विरूद्ध उनीहरूलाई उपयोग गरेको मात्र हो ।

    ६. सन्तबहादुर नेपालीको वक्तव्यमा लेखिएको छः ‘अल्पमतले पार्टी फुटाल्न चाहेको देखिंदैन । त्यो कुरा फोरमदेखि अहिलेसम्मको गतिविधिले पनि प्रमाणित गर्दछ ।………अहिले पनि अल्पमतले फरक विचार सार्वजनिक गरिरहेको छैन । अल्पमत यसकारणले बोलिरहेको छैन कि यसो गर्नाले अन्तर्विरोधको दूरी बढाउने छ र पार्टी फुटको दिशामा जाने छ । महाधिवेशनपछि अब अल्पमत र बहुमत छैन । तर पार्टी नेतृत्वले सार्वजनिक रूपले फलानो फलानो अल्पमत भन्दै हिड्नुभएको छ । अल्पमतलाई नङ्ग्याउने प्रयास गर्नुभएको छ ।…….हाम्रा फरक मतहरू पार्टीले निश्चित गरेका प्रक्रियाका आधारमा चलिरहन्छन् । यो निरन्तर प्रक्रिया हो । फरक मतकै कारणले पार्टी कार्यकर्तालाई सखाप पार्दै जाने हो भने कस्तो पार्टी बन्ला ?’ निश्चय नै अल्पमतले पार्टी फुटाल्न खोजेको छ भनेर कहीँ वा कहिले पनि लेखेका छैनौँ । एउटा जीवन्त पार्टीमा महाधिवेशनका बेलामा मात्र होइन, अरू बेलामा पनि बिभिन्न प्रकारका मतभेदहरू भइरहन्छन् र त्यस सिलसिलामा पार्टीभित्र केन्द्रदेखि तलसम्म बहुमत वा अल्पमत हुने प्रक्रिया सँधै चलिरहने कुरा हो । त्यसैले हामीले अल्पमतले पार्टी फुटाउन खोज्दै छ भनेर कहिल्यै आरोप लगाउने गरेका छैनौँ । तर पार्टीको इतिहासमा कैयौँपल्ट यस्ता तत्वहरू देखा पर्ने गर्दछन्, जसको मुख्य उद्देश्य पार्टीमा अराजकताको स्थिति सृजना गर्नु, पार्टीलाई ध्वस्त गर्नु वा पार्टीलाई फुटाउनु नै हुन्छ ।

    हाम्रो पार्टीको महाधिवेशनभन्दा पहिलेदेखि नै पार्टीभित्रका मतभेदहरूलाई बाहिर लैजाने, पार्टीका गोप्यताहरूलाई सार्वजनिक गर्ने वा बिभिन्न छद्म नामबाट पार्टीमाथि आक्रमण गर्ने जुन कार्यहरू हुँदै आएका छन्, त्यो खालि बहुमत र अल्पमतको विवादका कारणले मात्र हुने गरेको छैन । त्यसप्रकारका कार्यहरू पार्टीभित्र प्रवेश गरेका घुसपैठिया वा पार्टीविरोधी तत्वहरूका कारणले हुने गर्दछ । पार्टीले त्यसप्रकारका तत्वहरूलाई पत्ता लगाउँदै निष्काशित गर्दै पनि आएको छ । त्यही प्रकारका तत्वहरू मिलेर अहिले राष्ट्रिय जागरण अभियानको गठन भएको छ । उनीहरूको प्रयत्न पार्टीभित्र बिभिन्न विषयमा मतभेद राख्ने पार्टी सदस्यहरूलाई पनि आफ्नो पक्षमा मिलाउने वा फुटाउने हुनेछ । तर पार्टीका सबै इमान्दार र अनुशासित पार्टी सदस्यहरू कहिले पनि उनीहरूको त्यसप्रकारको प्रभावमा आउने छैनन् भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । हामीले पार्टीमा देखा पर्ने सबै मतभेदहरू वा अल्पमतको पनि सम्मान गर्दछौँ । मतभेदको आधारमा कसैप्रति कुनै प्रकारको भेदभाव गर्दैनौँ ।

    तर पार्टीभित्र चल्ने सबै मतभेदहरू सँधै पार्टीको विधान र अनुशासन अनुसार नै चल्नुपर्दछ । यो लेनिनवादी संगठनात्मक सिद्धान्त हो र हाम्रो पार्टीको विधानमा पनि त्यो कुराको स्पष्ट व्यवस्था गरिएको छ । त्यसैले कुनै पार्टी सदस्य बहुमत वा अल्पमत मध्ये जतातिर भएपनि पार्टी विधान र अनुशासनको उलङ्घन गरेमा आवश्यकता अनुसार अनुशासनको कारवाही गर्ने अभ्यास हाम्रो पार्टीमा छ । तर कसैलाई कुनै कारवाही गरेपनि उसलाई सुधार्ने नै हाम्रो प्रयत्न हुन्छ र खालि गम्भीर प्रकारका गल्तीहरू गर्ने र बारम्बार चेतावनी दिंदा पनि आफ्नो गल्तीलाई सुधार नगर्ने व्यक्तिहरूलाई नै अनिश्चितकालको लागि निष्काशित गरिन्छ । त्यस्ता व्यक्तिहरू मध्ये सन्तबहादुर नेपाली पनि एकजना हुनुहुन्छ । उहाँका गम्भीर प्रकारका गल्तीका लागि पार्टीले उहाँलाई अनिश्चित कालको लागि निष्काशित गरेको थियो । पार्टीको नियम अनुसार कसैलाई अनिश्चित कालको लागि निष्काशित गरेपछि सार्वजनिक रूपले नै त्यसबारे जानकारी गराइन्छ । उहाँ पार्टीको केन्द्रीय तहमा हुनुहुँदैन्थ्यो र एउटा जिल्ला पार्टी अन्तर्गत नै हुनुहुन्थ्यो । त्यसैले सम्बन्धित जिल्लामा नै उहाँबारे जानकारी गराइएको थियो र राष्ट्रिय तहमा त्यसबारे जानकारी गराउन आवश्यक ठानिएको थिएन ।

    ७. सन्तबहादुर नेपाली अब हाम्रो पार्टीमा हुनुहुन्न । तर माथि उहाँले जुन अभिव्यक्ति दिनुभएको छ, त्यसबाट उहाँ अँझैपनि पार्टीभित्रको अल्पमतमा भएको भ्रम दिने प्रयत्न गरेको देखिन्छ । वास्तवमा उहाँलाई पार्टीले कारवाही गरेको उहाँको फरक मतको कारणले थिएन । उहाँको गम्भीर प्रकारको अनुशासनविहीन गल्तीका कारणले नै उहाँलाई पार्टीबाट निष्काशित गरिएको थियो । फरक मत राखेको कारणले हाम्रो पार्टीमा कहिल्यै कसैलाई कारवाही गर्ने गरिएको छैन । तर फरक मत राखेका कारणले पार्टीभित्र जनुसुकै प्रकारको अनुशासनको उलङ्घनको लागि छुट हुन्छ वा हुनुपर्दछ भन्ने पनि होइन । पहिले अल्पमत पक्षमा भएका कतिपय कामरेडहरू अहिले पनि पार्टी वा जनवर्गीय संगठनका नेतृत्व तह वा बिभिन्न स्तरका कमिटीहरूमा हुनुहुन्छ । महाधिवेशनको बेलामा मतभेद राख्ने सबै इमान्दार र अनुशासित कामरेडहरूले इमान्दारिपूर्वक नै महाधिवेशनका निर्णय वा अनुशासन मान्ने काम गरिरहनुभएको छ । उहाँहरूको विषयमा हामीले कुनै आक्षेप लगाएका छैनौँ । तर महाधिवशेन भन्दा पहिलेदेखि नै कतिपय सदस्यहरूले खुला रूपले पार्टीभित्रका मतभेद र गोप्यतालाई बाहिर लगेर वा छद्म नामबाट पार्टीमाथि आक्रमण गरेर पार्टीलाई फुटाउने वा ध्वस्त गर्ने प्रयत्न गरेका थिए । हामीले पार्टीभित्र मतभेद राख्ने वा महाधिवेशनको बेलामा अल्पमतमा भएका पार्टीका सदस्यहरूलाई कहिले पनि त्यसप्रकारका अनुशासनविहीन तत्वहरूको पंक्तिमा राख्ने गरेका छैनौँ । तर अब नेपालीले पार्टीभित्र मतभेद राख्ने वा पहिले अल्पमतमा भएका पार्टी सदस्यहरूलाई उचालेर फुटाउन योजनावद्ध प्रकारले प्रयत्न गरेको देखिन्छ । नेपालीलाई पनि उहाँसितको फरक मतका कारणले हामीले उहाँलाई निष्काशित गरको हौँ वा उहाँको गम्भीर प्रकारको अनुशासनविहीन गल्तीका कारणले निष्काशन गरिएको हो ? त्यो कुरामाथि हामीले पछि प्रकाश हाल्ने छौँ ।

    ८. पहिले जारी गरिएको स्पष्टीकरणमा पनि लेखिएको छः ‘महाधिवेशनको बेलामा दुई लाइनको संघर्ष चलेको थियो । तर महाधिवेशनले त्यसबारे आफ्नो स्पष्ट निर्णय दिइसकेको छ । त्यसपछि पार्टीको विधान र जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार पार्टीका सदस्यलाई आफ्नो मतभेद सुरक्षित राख्ने वा चलाउने अधिकार हुन्छ । तर उनीहरूले महाधिवेशनको निर्णयलाई मानेर काम गर्नुपर्दछ ।’ नेपालीको वक्तव्यमा पनि यो कुरा ठीकै लेखिएको छ: ‘फरक मतहरू पार्टीले निश्चित गरेका प्रक्रियाका आधारमा चलिहन्छन् ।’ तर पार्टीले निश्चित गरेको प्रक्रिया भनेको के हो ? त्यसबारे हाम्रो पार्टीको विधानमा स्पष्टसित लेखिएको छ: पार्टीका सबै सदस्यहरूलाई कुनै पनि विषयमा मतभेद प्रकट गर्ने अधिकार हुन्छ । तर त्यो मतभेदलाई आफूभन्दा तल्ला, असम्बन्धित पार्टी समिति र सदस्यहरू वा पार्टीबाहिर लैजान मिल्दैन ।

    त्यसप्रकारका मतभेदहरू आफ्नोे समितिमा राख्न वा माथि पठाउन मात्र मिल्दछ । यो संसारभरि कम्युनिस्ट पार्टीहरूले अभ्यास गर्दै आएको जनवादी केन्द्रीयताको सिद्धान्तमाथि आधारित संगठनात्मक पद्धति हो । बुर्जुवा वा दक्षिणपन्थी संशोधनवादी पार्टीहरूले यो पद्धतिलाई अधिनायकवादी तरिका बताउँछन् । तर जुन पार्टी सदस्यहरूले यो नियमलाई उलङ्घन गरेर आफ्ना मतभेदहरूलाई तल्ला, असम्बन्धित वा पार्टीबाहिर पनि लैजाने गर्दछन्, त्यो स्वयम् नेपालीले उल्लेख गरेको “पार्टीले निश्चित गरेका प्रक्रिया”का विरूद्धको कुरा वा अनुशासनविहीनता हो । हामीले पार्टीका कैयौँ सदस्यहरूलाई त्यसप्रकारको गल्तीका लागि कारवाही गरेका छौँ, जो पार्टी विधानको अनुरूप नै छ ।

    महाधिवेशनभन्दा पहिलेदेखि नै, महाधिवेशनको बेलामा वा महाधिवेशनपछि पनि पार्टीभित्रका मतभेद वा गोप्यताहरूलाई बाहिर लैजाने गम्भीर प्रकारका गल्तीहरू हुने गरेका कुरा आम रूपमा थाहा भएको कुरा हो । त्यसप्रकारका गल्तीहरू वा त्यही प्रकारका अन्य अनुशासन सम्बन्धी गल्ती वा कमजोरीका लागि नै हामीले कैयौँ पार्टी सदस्यहरूमाथि कारवाही गर्ने गरेका छौँ । यदि हामीले त्यसो नगर्ने गरेको भए हाम्रो पार्टी नेकपा(नेकपा) वा नेका जस्तै संगठनमा बदलिने थियो, जहाँ सबै प्रकारका मतभेदहरूलाई सार्वजनिक रूपले बाहिर लैजाने गरिन्छ वा जहाँ सबै प्रकारको गुटवन्दीको लागि खुला छुट हुन्छ । हाम्रो समस्या यो हो कि हाम्रो पार्टीको इतिहासमा पनि बारम्बार त्यसप्रकारका प्रयत्नहरू हुँदै आएका छन् र पार्टीको संगठनलाई त्यस रूपमा लैजाने प्रयत्नहरूका विरूद्ध हामीले दशकौँदेखि संघर्ष गर्दै आएका छौँ । यो निरन्तर चल्ने प्रक्रिया हो र अहिले पनि हामीले त्यसप्रकारको संघर्ष गर्नुपरिरहेको छ । त्यही कारणले नै हाम्रो पार्टी एउटा कम्युनिस्ट पार्टीको रूपमा बचेको छ । नत्र हाम्रो पार्टी धेरै पहिले नै नेकपा(नेकपा) वा नेका जस्तो बनिसकेको हुन्थ्यो ।

    ९. नेपालीको वक्तव्यमा लेखिएको छः ‘केही समय अगाडि बन्द गरेपछि हाँक साप्ताहिकलाई गोविन्दसिंह थापाले प्रकाशन गर्न थालेपछि पार्टीको सम्पत्तिमाथि अनाधिकृत कब्जा गरेको’ भनेर झूठो प्रचार गरियो ।’ स्वयम् गोविन्दसिंह थापाको वक्तव्यमा नै साप्ताहिक हाँक पार्टीको सम्पत्ति भएको कुरा सार्वजनिक रूपले स्वीकार गरिएको छ । जो पार्टीको सम्पत्ति थियो, त्यो कसको नाममा गराउने ? त्यो पार्टीले निर्णय गर्ने कुरा हो । पार्टी महाधिवेशन भन्दा पहिले नै त्यो साप्ताहिकमा गोविन्दसिंह थापाको एकजनाको स्वामित्वलाई हटाएर ५ जनाको प्रा.लि.को स्वामित्वमा सञ्चालन गर्ने सर्वसम्मत निर्णय केन्द्रीय कमिटीेले गरेको थियो । त्यो प्रा.लि. स्वयम् थापाको अध्यक्षतामा नै बनाउने निर्णय भएको थियो । तर पछि उहाँले त्यो साप्ताहिकमा भएको आफ्नोे स्वामित्व हटाएर सामूहिक स्वामित्वमा लैजान अस्वीकार गर्नुभयो । स्पष्ट छ कि त्यो पार्टीको सम्पत्तिमाथिको अनाधिकृत कब्जा नै थियो । अब नेपालीले थापाले त्यसरी पार्टीको सम्पत्तिमाथि कब्जा गरेको भन्ने हाम्रो भनाइलाई झुट्टा प्रचार बताउँदै हुनुहुन्छ । त्यसले वास्तवमा उहाँको दृष्टिकोणमा नै गम्भीर प्रकारको ह्रास भएको कुरालाई बताउँछ । यदि भोलि स्वयम् उनीहरूले बनाएको संस्थाको नै कुनै सम्पत्तिलाई कसैले गोविन्दसिंह थापाले जस्तै अपहरण वा कब्जा गर्यो भने त्यसलाई उनीहरूले के भन्ने छन् ? खाली कम्युनिस्ट पार्टी मात्र होइन, कुनै बुर्जुवा वा प्रतिक्रियावादी संस्थाको सम्पत्तिमा पनि अरू कसैले कब्जा जमायो भने त्यसलाई सही मानिदैंन । आश्चर्यको कुरा हो कि सन्तबहादुर नेपालीले थापाको त्यसप्रकारको कार्यलाई सही मात्र मान्नुहुँदैन, त्यो कार्यमा उहाँ सहयोगी वा मतियार पनि बन्न पुग्नुभएको छ ।

    १०. यहाँ यो उल्लेखनीय छ कि थापामाथि पहिले पनि २/२ पल्ट साप्ताहिक हाँकको हिसाव हिनामिना गरेको आरोपमा उहाँलाई एकपटक केन्द्रीय कमिटीको सदस्यताबाट निलम्बन गरिएको थियो भने अर्कोपटक वैधानिक मोर्चाको केन्द्रीय सदस्यबाट हटाइएको थियो । जहाँसम्म मलाई सम्झना छ, केन्द्रीय समितिमा नेपालीले पनि थापामाथिको त्यसप्रकारको कारवाहीका पक्षमा नै भोट दिनुभएको थियो । यदि मैले ठीकसित सम्झिन नसकेको भए वा नेपालीले केन्द्रीय समितिमा थापामाथिको त्यसप्रकारको कारवाहीका विरूद्ध मतदान गरेको भए उहाँले स्वयम् त्यो कुरा स्पष्ट गर्न सक्नुहुने छ । यदि उहाँले त्यो बेला थापा विरूद्धको कारवाहीको प्रस्तावलाई समर्थन गरेको भए अहिले त्यो भन्दा कैयौँ गुणा बढी गल्तीको लागि किन थापाको पक्ष लिंदै हुनुहुन्छ ? त्यसको अर्थ यो बाहेक अरू केही हुन सक्दैन कि महाधिवेशनमा उहाँहरू दुबै जना अल्पमतको पक्षमा भएको कारणले नै उहाँले थापालाई समर्थन गर्नुभएको हुन सक्दछ । यदि उहाँले त्यो बेला थापाको विरूद्धको कारवाहीको त्यो प्रस्तावलाई विरोध गरेको भए उहाँको सँधै नै त्यसप्रकारका गल्तीहरूलाई समर्थन गर्ने स्वभाव रहेको कुरालाई बताउँछ । उक्त दुई कुरामध्ये उहाँको कमजोरी के हो स्वयम् उहाँले स्पष्ट गरेपछि थाहा हुनेछ ।

    ११. सन्तबहादुर नेपालीले यो लेख्नुभएको छः उहाँको फरक मत रहेको हुनाले नै उहाँलाई पार्टीबाट निष्काशित गरिएको थियो । त्यो सत्य र तथ्यको निम्नस्तरको तोडमोड हो । उहाँले त्यसप्रकारको भ्रम दिने प्रयत्न गरेको हुनाले उहाँमाथि गरिएको कारवाहीबारे केही प्रकाश हाल्नु आवश्यक हुन गएको छ । उहाँका बिभिन्न गल्तीहरूका लागि पहिले पनि उहाँमाथि अनुशासनको कारवाही गरिएको थियो । तर कसैलाई कुनै कारवाही गरेपनि हाम्रो प्रयत्न उनीहरूलाई सुधार्ने र पार्टीमा बचाएर राख्ने नै हुन्छ । कुनै गल्ती गर्ने बित्तिकै अनिश्चित कालका लागि पार्टीबाट निष्काशित गर्ने गरिन्न । उदाहरणका लागि पहिले लिखित प्रमाणद्वारा प्रमाणित भएको र स्वयम् उहाँले नै केन्द्रीय कमिटीमा स्वीकार गरेको तथ्यको आधारमा उहाँलाई पीवीबाट ६ महिनाको लागि निलम्बित गरिएको थियो । त्यो अवधि पूरा भएपछि उहाँलाई पुनर्वहाली गरिएको थियो । तर पछि उहाँले पीवी र केन्द्रीय कमिटी दुबैबाट राजिनामा दिएर तलको समेत कुनै पार्टी कमिटीमा नबस्ने भन्नुभएको थियो ।

    त्यसपछि लामो समयसम्म उहाँ निस्कृय हुनुभयो । पछि उहाँलाई रूपन्देहीको जिल्ला कमिटीको सल्लाहकारमा राखियो । महाधिवेशनको बेलामा भएको जिल्ला सम्मेलनको प्यानलमा पनि उहाँको नाम सल्लाहकारमा प्रस्तुत गरिएको थियो । तर उहाँले सल्लाहकारको प्रस्ताव अस्वीकार गरेर जिल्ला कमिटीको सदस्यको लागि चुनाव लड्नुभएको थियो, जसमा उहाँ पराजित हुनुभएको थियो । पछि गोविन्दसिंह थापाले पार्टीको वैधानिक साप्ताहिकमा अनाधिकृत रूपले कब्जा गरेपछि उहाँ त्यो साप्ताहिकको सञ्चालक समितिको अध्यक्ष बन्नुभयो । त्यो कार्यका लागि उहाँलाई पटकपटक पार्टीको निर्णयका विरूद्ध प्रकाशित भएको पत्रिकाबाट अलग हुनाको लागि सुझाव दिइयो र स्पष्टीकरण पनि मागियो । तर उहाँले त्यसो गर्न अस्वीकार गरेपछि उहाँलाई अनिश्चितकालको लागि पार्टीबाट निष्काशित गरिएको थियो । महाधिवेशनको बेलामा उहाँको भिन्न मत थियो र उहाँ अल्पमतमा हुनुहुन्थ्यो । तर त्यसका लागि उहाँमाथि कहिल्यै कारवाही गरिएको थिएन । त्यसरी फरक मतको कारणले उहाँलाई पार्टीबाट निष्काशित गरिएको भन्ने भनाइमा कुनै सत्यत नरहेको कुरा प्रष्ट छ ।

    १२. नेपालीले आफ्नोे वक्तव्यमा लेख्नुभएको छः ‘यदि कमरेडहरूको हातमा सरकार भएको भए हामी आज जेलमा भएका हुने थियौँ होला जस्तो लागेको छ । तर सौभाग्यवश हाम्रो पार्टीको सरकार नभएको हुँदा हामीले निष्काशनको कारवाही मात्र खाएका छौँ । जेल जानुपरेको छैन ।’ सर्वप्रथम त हामीले उहाँहरूको यो ‘सौभाग्य’का लागि उहाँहरूलाई ‘वधाइ’ दिन चाहन्छौँ कि आज हामी सरकारमा छैनौँ । शायद उहाँले सँधै यो कामना गर्न सक्नुहुन्छ कि हामी कहिल्यै क्रान्ति गर्न सफल नबनौँ र कहिल्यै सरकारमा नपुगौँ । जे होस्, हामी सरकारमा नभएको हुनाले उहाँहरूलाई जेलमा त जानु परेन, र खाली निष्काशित मात्र हुनुपर्यो । हाम्रो पार्टी कहिले पनि क्रान्ति गर्न सफल नहोस् र कहिले सरकारमा नजाओस् भन्ने कामना राखेर हुन सक्दछ, उहाँले पार्टी र पार्टीका सबै आन्दोलन र संघर्षका कार्यक्रमहरूलाई असफल पार्न पूरा प्रयत्न गर्नुभएको छ ।

    पार्टी कमजोर भयो, त्यसभित्र चरम प्रकारको अनुशासनविहीनता र अराजकताको स्थिति उत्पन्न भयो पार्टीलाई फुटाउने उहाँको प्रयत्न सफल भयो भने त्यसले(पार्टीले) कुनै प्रकारका आन्दोलनका कार्यक्रमहरूको सञ्चालन गर्न सक्ने छैन । जस्तै कि माथि उल्लेख गरियो, आठौँ महाधिवेशनपछि हाम्रो पार्टीले लगातार प्रशिक्षण, आन्दोलन वा संगठनात्मक विस्तारका कार्यक्रमहरू घनिभूत रूपले गरिरहेको छ । त्यसो गर्नु यसकारणले सम्भव भएको छ कि आज पार्टीमा उच्च प्रकारको एकता र अनुशासन छ । पार्टी त्यसप्रकारका कुनै कार्यक्रम सञ्चालन गर्न सफल नहोस् भन्नका लागि नै शायद उहाँले पार्टीलाई फुटाउन योजनवद्ध प्रकारले प्रयत्न गर्नुभएको छ र पार्टीबाट अनिश्चितकालको लागि निष्काशित अनुशासनविहीन तत्वहरूलाई एकिकृत गरेर राष्ट्रिय जागरण अभियानको गठन गर्न पुग्नुभएको छ । त्यसरी त्यो संस्था अनुशासनविहीन र अराजकतावादी तत्वहरूको एउटा जमघट बन्न पुगेको छ । निश्चय नै त्यसमा कतिपय पार्टीका समर्थकहरू पनि रहेका छन् तर उनीहरू आफ्नो सहमतिले नै त्यसमा सामेल भएका हुन् वा कुनै भ्रमवश ? त्यो पछि थाहा हुँदै जाने छ ।

    १३. नेपालीले माओलाई उदृत गर्दै लेख्नुभएको छः ‘हाम्रो काममा हामीले हाम्रो जस्तै दृष्टिकोण भएका कमरेडहरूसित मात्र होइन, हाम्रो भन्दा फरक दृष्टिकोण भएका कमरेडहरूसित पनि एकता स्थापित गर्न सिपालु हुनुपर्छ ।’ माओको त्यो भनाइलाई आधार बनाएर उहाँले हाम्रो कार्यशैली माओले बताएको कार्यशैली भन्दा बेग्लै र गलत भएको सावित गर्न प्रयत्न गरेको देखिन्छ । तर वास्तविकता यो हो कि विश्व कम्युनिस्ट आन्दोलनमा गम्भीर प्रकारका सैद्धान्तिक वा राजनीतिक गल्ती गर्ने, पार्टीको निर्णय विरूद्ध जाने र पार्टी अनुशासनको उलङ्घन गर्ने व्यक्तिहरूका विरूद्ध बारम्बार कडा कारवाही गर्ने गरिएको छ । लेनिन, स्तालिन वा माओले पनि त्यसप्रकारका कारवाहीहरू गर्ने गरेका थुप्रै उदाहरण छन् । पार्टीको नीतिको विरोध गरेकाले, अनुशासन उलङ्घन गरेकाले वा गुटवन्दी गरेका कारणले गतकालमा कैयौँ पार्टी सदस्यहरू वा पीवी र केन्द्रीय कमिटीका सदस्यहरूमाथि समेत कारवाही गर्ने कार्यमा स्वयम् सन्तबहादुर नेपालीको पनि समर्थन रहेको थियो । यदि उहाँको भनाइलाई आधार बनाउने हो भने त डिलाराम वा गिरिधारीलालहरूलाई पनि कारवाही गर्नु हुँदैन्थ्यो ।

    स्तालिनले ट्राटस्की र वुखारिनलाई पार्टीबाट निष्काशित गरेकोमा कम्युनिस्ट विरोधीहरूले सँधै स्तालिनको आलोचना गर्दै आएका छन् । माओको सैयौँ फूलहरूलाई फूल्न देऊ भन्ने विचारको प्रायशः उल्लेख गरिन्छ । तर त्यसो गर्ने बेलामा चीनमा महान सांस्कृतिक क्रान्तिमाथि ध्यान दिने गरिन्न, जहाँ ठूलो संख्यामा दक्षिणपन्थी अवसरवादीमाथि कारवाही गरिएको थियो । यो कुनै लुकेको कुरा होइन कि माओको महान सर्वहारा सांस्कृतिक क्रान्तिको अभियानलाई सबै दक्षिणपन्थी र प्रतिक्रियावादीहरूले गलत बताउँदै वा त्यसको भ्रत्र्सना गर्दै आएका छन् । त्यसप्रकारको पृष्ठभूमिमा पार्टीका सबै अनुशासनविहीन वा फुटपरस्त तत्वहरूका विरूद्ध हामीले कडा अनुशासनको नीति अपनाउँछौँ भने त्यसलाई गलत वा अस्वभाविक भन्न सकिन्न । यदि हामीले त्यसो नगर्ने हो भने हामीले सबै प्रकारको अनुशासनविहीनता र गुटवन्दीलाई खुला छोडिदिनुपर्ने छ । जसलाई लेनिनवादी संगठनात्मक प्रणालीको ज्ञान छैन वा जसले कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्न चाहन्छन्, उनीहरूले हाम्रो यसप्रकारको कार्यप्रणालीलाई कहिल्यै पनि सही नमान्ने कुरा प्रष्ट छ ।

    १४. नेपालीको वक्तव्यमा यो पनि लेखिएको छः ‘केही व्यक्तिहरू पार्टीमा केही समय बस्लान् तर उनीहरूको पनि जिम्मेवारी बढ्दै जान्छ, पद्धति र प्रक्रियाको खोजी हुन्छ, अनि त्यो नपाएपछि उनीहरू विरोधमा उत्रन्छन् वा निराश र पलायन हुन्छन् ।’ अन्तमा नेपालीको मतभेद, आक्रोश वा पलायनको मुख्य कारण के हो ? त्यो कुरा उहाँले यहाँ प्रष्टसित खुलाएर राख्नुभएको छ । उहाँले बारम्बार यो कुराको प्रचार गर्दै हिड्नुभएको छ कि उहाँलाई कुनै जिम्मेवारी दिइएन, जसको अर्थ हुन्छ उहाँलाई पार्टीको कुनै माथिल्लो पदमा लगिएन । उहाँले स्पष्टसित लेख्नुभएको छः ‘केही व्यक्तिहरू पार्टीमा केही समय बस्लान्, तर उनीहरूको पनि जिम्मेवारी बढ्दै जान्छ, पद्धति र प्रक्रियाको खोजी हुन्छ, अनि त्यो नपाएपछि उनीहरू विरोधमा उत्रन्छन् वा निराश र पलायन हुन्छन् ।’ अब यो कुरामा कुनै शङ्का रहेको छैन कि त्यस्ता ‘केही व्यक्तिहरू’मा सन्तबहादुर नेपाली पनि पर्नुहुन्छ । तर वास्तविकता यो हो कि उहाँलाई पार्टीले कुनै जिम्मेवारी नदिएको भन्ने होइन ।

    उहाँ पार्टीको पीवीएम र केन्द्रीय समितिको सदस्य हुनुहुन्थ्यो । तर जस्तै कि माथि उल्लेख गरियो, उहाँको चरित्रसम्बन्धी कमजोरीको कारणले उहाँलाई पीवीबाट निलम्बन गरिएको थियो र पछि पुनर्वहाली पनि गरिएको थियो । तर उहाँले आफै पीवी र केन्द्रीय समितिबाट राजिनामा दिनुका साथै वैधानिक मोर्चाको महासचिवबाट समेत हट्नुभएको थियो । उहाँलाई पार्टीले सांसद पनि बनाएको थियो । के यी सबै कार्यहरूबाट पार्टीले उहाँलाई जिम्मेवारी नदिएको भन्न मिल्दछ ? उहाँको चरित्रसम्बन्धी कमजोरीका लागि कारवाही गरिएकोमा उहाँमा कुण्ठा र बदलाको भाव देखा पर्यो । त्यही कुण्ठाका कारणले उहाँले पछि पार्टीको पीवी र केन्द्रीय समितिबाट राजिनामा दिनुभएको थियो वैधानिक मोर्चाको महासचिवबाट समेत हट्नुभएको थियो । पछि उहाँ जिल्ला समितिको चुनावमा लड्नुभएको थियो र त्यसमा पराजित हुनुभएको थियो । कतिपय अल्पमत पक्षमा भएका कामरेडले पनि चुनाव लडेर जिल्ला कमिटीमा निर्वाचित हुनभएको थियो । तर उहाँ चुनावमा पराजित हुनुभयो भने अल्पमतको पक्षमा गएको कारणले नै उहाँलाई हराइएको थियो भन्न मिल्दैन ।

    जे होस् त्यो पराजयले उहाँमा कुण्ठा झन् बढेर गयो । त्यसपछि उहाँ पूरै गुटवन्दीमा लाग्नुभयो । त्यो कुण्ठाको नै परिणाम हो कि उहाँ गोविन्दसिंह थापाले अनाधिकृत रूपले पार्टीको सम्पत्तिमाथि कब्जा गरेको वैधानिक साप्ताहिकमा सामेल पुग्नुभयो र त्यही उहाँको पार्टीबाट अनिश्चितकालको लागि निष्काशनको कारण बन्न पुग्यो । त्यसरी उहाँको गुटवन्दीको दौड अब राष्ट्रिय जागरण अभियानको रूपमा देखा परेको छ, जसको उद्देश्य पूरै पार्टीलाई फुटाउनु वा ध्वस्त गर्नु हो । त्यसका लागि पहिले पार्टीमा छँदा भएको वैचारिक वा व्यवहारिक सम्बन्धको आधारमा बढीभन्दा बढी पार्टी सदस्यहरूलाई आफ्नो पक्षमा मिलाउने उहाँको प्रयत्न भइरहेको छ । पहिले जारी गरिएको स्पष्टीकरणको अन्तमा लेखिएको थियोः ‘पार्टीका सबै सचेत इमान्दार र अनुशाासित पार्टी सदस्यले उनीहरूको त्यस प्रकारको प्रयत्नलाई असफल पार्ने छन् भन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ ।’ त्यो विश्वासलाई हामी पुनः दोहोर्याउन चाहन्छौँ ।

    शनिबार, फागुन २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.