बुटवल । बागलुङ जिल्ला काठेखोला–८ लेखानी घर भई हाल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मङ्गलापुर निवासी अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुनको दाहसंस्कार गरिएको छ ।
चितवन मेडिकल अस्पतालमा उपचारको क्रममा २०८० साउन २१ गते राति लगभग ११ बजे निधन भएका ६६ वर्षीय पुनको साउन २२ गते सोमबार रुपन्देहीस्थित मगरघाटमा दाहसंस्कार गरिएको हो ।
दाहसंस्कारस्थलमा उहाँको पार्थिव शरीरमा नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थले कम्युनिस्ट पार्टीको र जनजाति सम्मेलनकी कार्यवाहक महासचिव उषा पुनले सम्मेलनको झन्डा ओढाउनुभएको थियो ।
शोकसभाको सञ्चालन राजमो तिलोत्तमा नगर समितिका अध्यक्ष हर्क टण्डनले गर्नुभएको थियो ।
कार्यक्रमपूर्व उहाँको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।
चितवनबाट नेता पुनको शव सोमबार दिउसो ११ रुपन्देहीको तिलोत्तमा ल्याइएको थियो । तत्पश्चात् आफन्तजन र पार्टीसङ्गठनका नेता कार्यकर्ताको उपस्थितिमा दिउसो ११ बजे दाहसंस्कार गरिएको थियो ।
दाहसंस्कार स्थलमा ठुलो सङ्ख्यामा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा र मसालनिकट जनवर्गीय मोर्चाका जिल्ला तथा पालिकास्तरका नेताकार्यकर्ता र आफन्तजनको व्यापक उपस्थिति थियो ।
