काठमाडौँ । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।
२०८० साउन ३ गते बुधकार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
बैठकले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकटेकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाललगायतको प्रतिनिधित्व रहने बैठकले निर्णय गरेको छ ।
त्यस्तै, सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा सोही अस्पतालका चिकित्सक डा रवि मल्ललाई नियुक्त गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।