काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य समेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६ः५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै ललितपुर शाखाले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ।
समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत फोन गरी धम्की दिएको महासंघले शनिबार विज्ञप्तिमार्फत जनाएको छ।
९८०१०५२२२२ नम्बरबाट फोन गरेर पत्रकार पौडेललाई धम्की दिएको महासंघका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?’
समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदाहुँदै प्रसाईंले ज्यान मार्ने धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको छ ।