काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ मा सात लाख ७१ हजार ९९८ जना व्यक्तिको छुटेको पुष्टि भएको छ ।
राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने “गणना जाँच सर्वेक्षण (पी.ई.एस.) मा यस्तो देखाएको हो ।
यसअघि जनगणनाको नतिजाले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरूसमेत जोड्दा नेपालको वास्तविक जनसङ्ख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार सर्वेक्षणको नतिजापछि जनसङ्ख्या दुई करोड ९९ लाख पुगे पनि आधिकारिक तथ्याङ्कमा भने यसअघि सार्वजनिक भएको दुई करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने छ ।
जनगणनामा देखिएको यो छुट कुल २ दशमलव ७३ प्रतिशत हो । त्यसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेकोे छ । तथ्याङ्क विभागले छुट भएको जनसङ्ख्या २ दशमलव ५८ देखिएकोमा यसलाई प्राविधिक रूपमा ठुलो अंश भने नमानिने बताएको छ ।
त्रिविले गर्यो जाँच सर्वेक्षण
२०७८ सालभन्दा अगाडि तथ्याङ्क विभागले नै जनगणनाको जाँच सर्वेक्षण गर्दै आएको थियो । सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्र सङ्घको सुझावअनुसार यस्तो सर्वेक्षण स्वतन्त्र र सो क्षेत्रमा दक्षता प्राप्त निकायबाट गराउनुपर्ने हुन्थ्यो । सोही कारण अहिले जनगणनाको पुन: जाँच त्रिभुवन विश्वविद्यालयले गरेको हो ।
नतिजा जाँच सर्वेक्षणको काम २०७८ सालको माघ महिनाको अन्तिम साताबाट सुरु गरी २०७९ साल जेठ मसान्त भित्र सम्पन्न गरिएको थियो । स्थलगत रूपमा भने २०७८ साल चैत १ गतेदेखि १५ गतेसम्म टोली खटिएका थिए ।
सहरमा धेरै छुटे
सर्वेक्षणको नतिजाले सहरी इलाकामा बढी मानिस जनगणनामा छुटेको पाइएको छ । सात लाख ७१ हजार ९९८ जनामध्ये सहरमा पाँच लाख ८५ हजार ७८२ र ग्रामीण क्षेत्रमा एक लाख ८६ हजार २१६ जना व्यक्ति जनगणनामा छुटेका छन् । यसमा जनगणनाको बेला र सर्वेक्षणका बेला पनि सोही स्थानमा अक्सर बसोबास गरेका घरपरिवार र उनीहरूको सदस्यलाई मात्र समेटेको थियो ।
सर्वेक्षणअनुसार राष्ट्रिय स्तरमा ९६.२ प्रतिशत जनसङ्ख्याको गणना जाँच सर्वेक्षण र मुल गणना दुबैमा हुबहु मिलेको छ ।
दुबैमा गणना भएकाको हुबहु मिलान दर सहरी क्षेत्रमा केही कमी देखिएको छ । राष्ट्रिय स्तरमा २.०९ प्रतिशत जनसङ्ख्या जाँच सर्वेक्षणमा गणना भएको र मुल गणनामा छुटेको देखिएको छ । यो दर सहरी इलाकामा २.४४ प्रतिशत देखिएको छ ।
छुट्नेहरू काठमाडौँ उपत्यकाका धेरै
आठ क्षेत्रअनुसारको वर्गीकरणमा भने काठमाडौँ उपत्यकामा धेरै जना छुट भएको पाइएको छ । काठमाडौँमा ४.४२ प्रतिशतको गणना छुटेका हुन् । त्यसपछि लुम्बिनी प्रदेशमा २.९९ प्रतिशतको गणना छुटेको पाइएको छ ।
उमेरअनुसार हेर्दा ८० वर्ष वा सोभन्दा पाको उमेरका व्यक्तिको सबैभन्दा धेरै ४.१ प्रतिशतले छुट भएको छ । २० देखि २४ वर्षको ३.९ प्रतिशत, २५ देखि २९ वर्षको ३.८ प्रतिशत छुट भएको हो । छुटमध्ये महिलाको दर २.३ प्रतिशत र पुरुषको २.९ प्रतिशत देखिएको छ ।
साक्षर २.९ प्रतिशत र निरक्षर २.६ प्रतिशत छुटेको पाइएको हो । यसबाट गनगणनामा निरक्षरभन्दा साक्षर धेरै छुटको पाइएको छ । विवाहित २.१ प्रतिशत जनसङ्ख्या छुट्दा अविवाहितको सङ्ख्या ३ प्रतिशतले छुटेको छ ।