भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छओटा बाघको उद्धार गरेको छ ।
निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीनओटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एक/एकओटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष उद्धार गरिएकोमा चारओटा भाले र दुईओटा पोथी बाघ रहेको निकुञ्जले जनाएको छ ।
गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते सात ओटा बाघको उद्धार गरेको थियो, जसमध्ये दुईओटा उपचारका क्रममा मरेको, चारओटाको आनिबानीमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो । एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उहाँले बताउनुभयो ।
निकुञ्जको खोरमा बाघको सङ्ख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ । निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा तीनओटा र सौराहामा रहेको खोरमा दुईओटा बाघ रहेका छन् । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । (रासस)