काठमाडौँ । ललितानिवास प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।
त्यस क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत २०८० असार २४ गते आइतबार पक्राउ परेका हुन् ।
राउतलाई काठमाडौँबाट विराटनगर जाने क्रममा केही समयअघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनलाई प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो ।
त्यस्तै, सोही प्रकरणमा नेपाल प्रहरीको सिआइबीले थप दुई जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रु्रव अर्याल रहेका सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले जानकारी दिनुभयो ।
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा सिआइबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।