काठमाडौँ । महिलालाई उचित सम्मान र स्थान नदिइएकोमा देशैभरि आवाज उठ्ने गरिरहेका बेला प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नै यसबारे आवाज उठाउनुभएको छ ।
उपसभामुख रानाले संसद्मा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
पैसट्ठिऔँ संसद् दिवसको अवसर पारेर २०८० असार १६ गते शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालको संसद्मा सभामुखको मात्रै फोटो राख्ने गरेको तर उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
‘अस्ति म सिङ्गापुर गएको थिएँ, डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पाल्र्यामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो ? कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकासक्रमअनुसार त्यसरी राखिएको छ अभिलेखका रूपमा’ रानाले भन्नुभयो– ‘हामीमा खै त त्यस्तो ? भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन ।’
उहाँले सभामुखको मात्रै फोटो राख्नुलाई उपसभामुखलाई बायस गरेको आरोपसमेत लगाउनुभयो ।
‘यो कुरा मनन गर्नुपर्छ’ उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताउनुभयो ।