काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलकदमीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ ।
दसौँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा २०८० असार ३ गते आइतबारका दिन सहमति भएको हो ।
दुई पक्षबिच एकतासम्बन्धी चार बुँदे सहमतिसमेत भएको एनआरएनएले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएका हुन् ।
एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समेत भूमिका खेल्नुभएको थियो ।
आइतबार दुबै समूहबिच भएको वार्तापछि प्रधानमन्त्री दाहाल र उपमहासचिव शर्माको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न असहज भएको उल्लेख गर्दै एक ठाउँमा आएकामा खुसी लागेको बताउनुभयो । दुई समूहको विधानलाई परराष्ट्र मन्त्रालयबाट प्रमाणित गराई एउटै बनाउन उहाँले सुझाव दिनुभयो ।
विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन अध्यक्ष डा बद्रि केसी र विनोद कुँवरले लामो समयदेखि वार्ता तथा संवादलाई जारी राख्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनएका अभियन्ता जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । सहमतिअनुसार आगामी अक्टोबरमा एघारौँ महाधिवेशन र निर्वाचन हुने छ ।