हेम बिजी ##
आफ्नै भूगोलमाथि उभिएर
हेरिरहेको छु देश
पूर्वमा टिष्टा देखिँदैन
पश्चिममा काँगडा देखिँदैन
हजारौँहजारपटक
आफ्नै भूगोलमाथि उभिएर
हेरिरहेको छु देश
आजकाल
आधा देश देखिँदैन ।
धरहराको टुप्पोमा चढेर
हेरिरहेको छु देश
कालापानी देखिँदैन
लिपुलेक देखिँदैन
देखिँदैन लिम्पियाधुरा
हजारौँहजारपटक
धरहराको टुप्पोमा चढेर
हेरिरहेको छु देश
आजकाल
आधा देश देखिँदैन ।
भर्खर
सगरमाथा शिखर चढेर ओर्लिएका
एक जना
देशभक्त आरोहणीलाई सोधेँ–
देखियो त देशभित्र
लुम्बिनी
कपिलवस्तु
र विराटनगरका भूभागहरू
उनले
हजारौँहजारपटक भने–
आजकाल
आधा देश देखिँदैन ।
आजकाल
घुम्ने मेचमाथि दृष्टिविहीनहरू छन्
तब
देश लुटिँदा लुकेका छन्
सीमा मिँचिदा मौन छन्
हजारौँहजारपटक
विदेशीसँग बिन्तिपत्र बिछ्याएका छन्
अर्थात्
साटेका छन् सत्तासँग देश
त्यसैले
आजकाल
आधा देश भेटिँदैन
आधा देश देखिँदैन ।