काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) भारतको नयाँ संसद् भवनमा राखिएको नक्सा सांस्कृतिक नभएर रणनीतिक रहेको दाबी गर्नुभएको छ ।
राष्ट्रियसभा अधिवेशनमा राजस्व र त्यसको वार्षिक अनुमानमाथिको छलफलमा २०८० जेठ २५ गते बिहीबार भाग लिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
‘प्रधानमन्त्रीले जसरी सहज ढङ्गले भारतको उक्त नक्साबारे जवाफ दिनुभयो, विषय त्यति सहज छैन’ सांसद विश्वकर्माले भन्नुभयो– ‘नक्सा अखण्ड भारतको बताइएको छ । त्यसमा अफगानिस्तान, पाकिस्तान नेपालसहित सम्पूर्ण दक्षिण एसियाको
भूभाग समावेश छ । यो गम्भीर विषय हो ।’
उहाँले जोड दिएर भन्नुभयो– ‘यस सम्बन्धमा हामी चनाखो हुनुपर्दछ ।’
सांसद विश्वकर्माले यस सम्बन्धमा सरकारको आधिकारिक धारणाको पनि माग गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले बुटवल धागो कारखाना चलाउने सरकारको समर्थन गर्नुभयो तर कपास विकास समिति खारेज गर्ने सरकारको निर्णयको भने विरोध गर्नुभयो ।
‘धागो कारखाना चलाउने तर कपास विकास समिति खारेज गर्ने, यो कस्तो निर्णय हो ?’ उहाँले भन्नुभयो– ‘त्यसको अर्थ यही हुन्छ, कपास विदेशबाट आयात गर्ने अर्थात् परनिर्भर बन्ने ।’
सांसद विश्वकर्माले गाँजाको औषधीय गुण हुने भएकाले सरकारले यसको सम्भाव्यता अध्ययन गर्ने विषयप्रति समर्थन जनाउनुभयो ।
उहाँले जिज्ञासा राख्नुभयो– ‘तर गाँजाको दुरुपयोग बन्द गर्न सरकारले कस्तो मेकानिज्म बनाउँछ ? त्यो गम्भीर विषय हो ।’
२५ हजार भूमिहीनलाई लालपुर्जा वितरण गर्ने सरकारको निर्णयलाई उहाँले समर्थन गर्नुभयो ।
‘भूमिहीनलाई जमिन दिने कुरा ठिक छ’ उहाँले अगाडि भन्नुभयो– ‘पहिलो कुरा त भूमिहीन सुकुम्बासीहरू जम्मा २५ हजार होइनन्, धेरै छन् । अर्को कुरा उनीहरूका लागि निश्चित गरिएको राजस्व बढी छ । त्यसलाई घटाउनुपर्दछ ।’
सम्बोधनको क्रममा सांसद विश्वकर्माले सहकारीले आम जनताको रकममाथि ब्रह्मलुट गरेकाले त्यसलाई नियन्त्रण गर्न माग पनि गर्नुभयो ।
त्यस्तै, विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन गर्ने सरकारको निर्णयको उहाँले विरोध गर्नुभयो ।
‘मजदुर अधिकारलाई कुण्ठित गर्ने गरी ल्याइएको विशेष आर्थिक क्षेत्र गलत छ, त्यसलाई खारेज गरिनुपर्दछ’ उहाँको भनाइ थियो ।
सरकारले चुनढुङ्गा उत्खनन् तथा गिटी, ढुङ्गा निर्यात गर्ने निर्णयको सांसद विश्वकर्माले विरोध गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘चुनढुङ्गा उत्खनन् र गिटी, ढुङ्गा, बालुवा निकासीले वातारणीय असर गम्भीर हुन्छ । त्यसैले यसलाई रोक्नुपर्दछ ।’
उहाँले सरकारको यस्तो निर्णयबाट चुरेक्षेत्र विनाश हुँदै मरुभूमीकरण हुने पनि बताउनुभयो ।
सांसद विश्वकर्माले विदेशस्थित नेपालीको कष्टकर जीवनबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।
विदेशबाट प्रवासी नेपालीको लास आइरहेको स्मरण गर्दै उहाँले यसतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
त्यस्तै, उहाँले सरकारले बौद्ध पुरातात्विक सर्किटको अवधारणाको समर्थन गर्नुभयो ।
‘बौद्ध पुरातात्विक सर्किटको हामी समर्थन गर्दछौँ’ उहाँले भन्नुभयो– ‘तर त्यति मात्र पर्याप्त छैन बरु नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई मिलाएर बौद्ध पुरातात्विक सहर नै निर्माण गरिनुपर्दछ ।’
एवम् प्रकारले उहाँले प्लस टू शिक्षा बेबारिसे भएकोमा त्यसको ध्यानाकर्षण गराउनुभयो ।
प्लस टूमा शिक्षकको दरबन्दी नभएको बताउँदै उहाँले त्यसतर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो ।