काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।
भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसहितका भूगोल समेटेर अखण्ड भारतको तस्बिर राखेपछि त्यसको प्रतिक्रियामा शाहले पनि ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् ।
तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले चर्चेको भूगोलसहितको नक्सासहितको सो नक्सा केही दिनअघि शाहको कार्यकक्षमा राखिएको शाहको सचिवालयले जनाएको छ ।
भारतको संसदमा नेपालको भूगोलसहितको नक्सा राखिएकोबारेमा देशभर विरोध भएपनि नेपाल सरकार त्यस विषयमा बोल्न सकिरहेको छैन । बरु परराष्ट्रमन्त्री एनपी साउदले भारतीय टेलिभिजन आजतकसँगको कुराकानीका क्रममा आफूलाई त्यसबारे कुनै जानकारी नै नभएको जवाफ दिएका थिए।
छिमेकी देश बंगलादेशले भने आफ्नो भूगोलसहितको नक्सा राखिएको विषयमा भारत सरकारसँग स्पष्टीकरण सोधिसकेको छ।
यता, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि छिट्टै ग्रेटर नेपालको नक्सा राख्ने बताउँदै आम जनतालाई समेत आ–आफ्नो घरमा यस्तो नक्सा राख्न आग्रह गरेका छन्।
