विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो ।
केन्द्रीय गठबन्धनमा आएको फेरबदलको कारण आफूहरूले समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो ।
२०८० जेठ २३ गते बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पुूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले राजीनामा दिनुभएको हो ।
आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भए पनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताउनुभयो ।
नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न आह्वान गरे पनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।
‘सरकारले पहिचानवादीको आन्दोलन र मागलाई बेवास्ता गरेको छ, सम्मान गरेको छैन’ उहाँले भन्नुभयो ।