काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सिन्धुलीका युवराज पौडेल सफलले हालेको रिट सर्वोच्चले बुधबार दर्ता गरेको हो ।
यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको हो ।
आगामी जेठ १७ गतेका लागि सो मुद्दामा पेशी समेत तोकिएको छ।
रविको सांसद पदको अयोग्यतासम्बन्धी रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा पेश भएको थियो। तर अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले वैशाख २८ गते यो निवेदनलाई दरपीठ गरिदिएका थिए।
दरपीठ गर्ने पन्थीको निर्णयविरुद्ध पौडेलले यही जेठ १ गते आदेश माग्दै निवेदन पेश गरेका थिए। न्यायाधीश श्रेष्ठको एकल इजलासबाट दरपीठ आदेश बदर गर्दै सोमबार दर्ता गर्न आदेश दिएको थियो। उनको आदेशसँगै बुधबार उक्त रिट दर्ता भएको छ।