काठमाडौँ । टीकापुर नरसंहारका आरोपी रेशम चौधरीलाई दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दिपायल (डोटी) को फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले २०८० जेठ २ गते मङ्गलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो ।
इजलासले आफ्नो फैसलामा भनेको छ– अभियोग दाबीबाट सफाइ पाऊँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
इजलासले प्रतिवादीहरू सीताराम चौधरी र गङ्गाराम चौधरीलाई आरोपित कसुरबाट सफाइ दिएको छ । सीताराम र गङ्गारामलाई उच्च अदालत दिपायलले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
अर्का प्रतिवादी लक्ष्मण थारूलाई भने उच्च अदालतले पाँच वर्ष कैदसजाय सुनाएको थियो । लक्ष्मणको सजाय भने घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको छ ।
संविधान जारी हुनुभन्दा अघि २०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो । एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको उक्त हिंसात्मक झडपको नेतृत्व गरेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थिए ।
अदालतको फैसलापछि पूर्वसांसद समेत रहेका चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।
कारागारबाट उनले खोलेको नयाँ पार्टीले गत संसदीय चुनावमा ४ सिट जितेको छ । उनकी पत्नी रञ्जिता श्रेष्ठ अहिले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।

